रिना बस्नेतको ९ दिनपछि दाहसंस्कार, आन्दोलन गर्न बनेको समिति विघटन

रिना बस्नेतको ९ दिनपछि दाहसंस्कार, आन्दोलन गर्न बनेको समिति विघटन

केन्द्रबिन्दु
0
Shares

मोरङ । नग्न अवस्थामा मृत फेला परेकी रिना बस्नेतको ९ दिनपछि दाहसंस्कार गरिएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा ९ दिनअघि गत शनिबार नग्न अबस्थामा मृत फेला परेकी २९ वर्षीया रिनाको आईतबार दाहसंस्कार गरिएको हो । घटनाको अनुसन्धानलाई प्रभावकारी बनाएर जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाउने सहमतिपछि आफन्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा शवको अन्त्येष्टी गरेका हुन् । वीरबहादुर बस्नेतको घरको तीन तलामाथि १४ वर्षीय छोरासहित डेरा बस्दै आएकी रिना यही बैशाख ७ गते शनिबार विहान निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन । बलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भनेर पथरी उद्योग वाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर स्थानीय बासिन्दा आन्दोलित बनेका थिए ।

आन्दोलनका कारण सोमबार र मंगलबार पथरी बजार तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २९ सेल अश्रुग्यास प्रहार गर्दा ५ जना घाइते भएका थिए । झडपमा परेर तीन प्रहरी पनि घाइते भए । हत्यामा संलग्नलाई कारवाही हुनुपर्ने, शान्ति सुरक्षा कायम गर्नुपर्ने, महिला हिंसा बन्द गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएकाले शनिबार इलाका प्रहरी कार्यालय पथरी अगाडि धर्ना दिएका थिए । शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम रिपोर्टले पनि छातिभित्र तथा टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको देखाएको र हत्या भएको प्रमाण अहिलेसम्म फेला नपरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । कुनै हतियार प्रहार नगरिएको र बलात्कारपछि हत्या गरेको कुरा पोस्टमार्टम रिपोर्टले नदेखाएको उनको भनाई छ ।

विभिन्न परीक्षणका लागि फरेन्सिक ल्याब (विधी विज्ञान प्रयोगशाला) पठाइएको र त्यसको रिपोर्ट भने प्राप्त भइनसकेको उनले बताए । श्रेष्ठले फरेन्सिक रिपोर्ट आइसकेपछि थप कुरा खुल्ने र विष वा मदिरा सेवन केही कारणले गरेको भए पत्ता लाग्ने जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि डीएसपी नवराज ढुंगानाको नेत्रृत्वमा विशेष टोली खटिएको छ । अहिलेसम्म प्रहरीले घटनाका विषयमा २५ जनासँग सोधपुछ गरिसकेको छ । मृत्यु भएकी रिनाको सम्पर्क र कनेक्सन व्यापारी एवं समाजका प्रतिष्ठित व्यक्तिहरुसँग रहेको देखिएको छ । त्यही सम्पर्कका आधारमा थप अनुसन्धान गर्ने र कनेक्सन खोतल्ने काम भइरहेको डीएसपी श्रेष्ठको भनाइ छ । त्यस क्रममा रिनाका प्रेमी भनिएका र उनीसँग निरन्तर सम्पर्कमा रहने गरेका मोरङ सुन्दरहरैंचाका व्यापारी कमल नेपाललाई यस अघि नै पक्राउ गरेर प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । रिनासँग लामै कनेक्सन देखिएपछि उर्लाबारीका व्यापारी नेत्र घिमिरेलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।

रिनाका आफन्त र परिवारका सदस्यहरुले घटनाको अनुसन्धाननै प्रभावित पार्ने गरी आन्दोलन गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । हिंसा भड्काउने र घटनालाई अतिरञ्जित बनाउने काम भएको परिवारको बुझाई छ । रिनाका जेठाजु दुर्गाबहादुर बस्नेतले घटनापछि अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानबाट आफन्त र परिवारका सदस्य सन्तुष्ट रहेको बताए । उनले केही दिन भित्रमै प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउने विश्वास बढेर गएको बताए । यता रिनाको अन्त्येष्टिप्रति संघर्ष समितिले आपत्ति जनाएको छ । समितिकी संयोजक पराजुलीले अन्त्येष्टिका नाममा न्यायलाई तिलाञ्जली र आहुती दिएको बताईन् । बलात्कारपछि हत्या भएकाले हत्यारा पत्ता नलागुनजेलसम्म दाहसंस्कार गर्न हुँदैन भन्ने हाम्रो सुझाव थियो । न्यायका निम्ति हामी लडिरहँदा परिवार र आफन्तले साथ दिएनन्,’ उनले भनिन्, ‘हामीलाई खवर नगरिएका कारण अन्त्येष्टिमा गएनौं । संघर्ष समितिलाई नै बाईपास गर्दै प्रहरीसँग समन्वय गरेर शवको दाहासंस्कार गरिएको कुरामा हाम्रो चित्त बुझेन ।’ परिवारका सदस्य र आफन्तले साथ नदिएपछि आन्दोलनका लागि भनेर गठन गरिएको संघर्ष समिति विघटन गरिएको छ ।

Logo