बसपार्क नहुँदा समस्या, जनप्रतिनिधि भन्छन्, ‘जग्गा दिनुहोस बसपार्क बनाईदिन्छौं’

बसपार्क नहुँदा समस्या, जनप्रतिनिधि भन्छन्, ‘जग्गा दिनुहोस बसपार्क बनाईदिन्छौं’

केन्द्रबिन्दु
0
Shares

पवन मुडभरी

कैलाली । अस्तव्यस्त सडकमा गन्जागोल पार्किङ । राजमार्ग छेउमै घण्टौँसम्म यात्रु कुर्ने बसको लाम । छेउछाउमा साना निजी सामान बोक्ने पिकअप ट्याक्टर र विद्युतीय रिक्सा । यो यथार्थ दैनिक हजारौं सवारी साधन गुड्ने पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको बौनियाको हो । कैलालीको बर्दगोरिया गाउँपालिका अन्तरगत पर्ने बौनियाँ बजारको केन्द्र मानिने बौनियाँमा ब्यबस्थित बसपार्क छैन । बसपार्क नहुँदा बजारको चोकमै दैनिक दर्जनौं गाडीको लाम हुन्छ । जसले बजारलाई कुरूप त बनाएको छ नै सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ ।

बजारको मुख्य चोकदेखि जोशीपुर जाने बाटोमा यात्रु पर्खदै घण्टौं रोकिने विद्युतीय रिक्सा र बसले पैदल यात्रुलाई हिड्न समस्या हुने गरेको स्थानीय घमन सापकोटा बताउँछन् । “साँघुरो सडक छ । बजारका चारैतिर अब्यबस्थित पार्किङ । पैदल हिड्नेलाई पनि समस्या छ । उनले भने, सवारी दुर्घटनाको जोखिम त उच्च छ ।”

सुदूरपश्चिम बस व्यवसायी समिति बौनियाका काउन्टर प्रमुख अर्जुन हमालले सुरुवातदेखि नै बसपार्क व्यवस्थापनको माग राख्दै आएपनि हालसम्म कसैले चासो नदिएको बताए । जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गर्दै हमालले भने, “बनेका संरचना भत्काउन अग्रसर हुने । नयाँ संरचना बनाउन चासो नदिने । यस्तो प्रवृत्तिले कहिले विकास हुन्छ ?” प्रश्न गर्दै उनले थपे, चुनावमा मात्रै सबैले मुद्दा बनाउँछन् । त्यसपछि फर्केर हेर्दैनन् ”

बजार व्यवस्थापन समिति र गाउँपालिकासँग बारम्बार कुरा राखेपनि आश्वासन बाहेक केही नपाएको उनले गुनासो गरे । बसपार्क ब्यबस्थित बनाउने विषयमा गाउँपालिकासँग छलफल भइरहेको बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारको भनाई छ ।

“बसपार्कका लागि जग्गा अभाव छ । जग्गाको विषयमा स्थानीय र गाउँपालिकासँग कुरा भइरहेको छ ।” उनले भने । गाउँपालिका अध्यक्ष बलीराम डगौरा थारूको भनाई पनि बजार व्यवस्थापन समितिका अध्यक्ष सुनारकोे भन्दा भिन्न छैन । उनी पनि बसपार्क बनाउन जग्गा अभाव रहेको बताउँछन् । जग्गा मिल्ने बित्तिकै बसपार्क निर्माण थाल्ने उनको प्रतिवद्धता छ ।

निर्वाचनमा वडाध्यक्षदेखि गाउँपालिका प्रमुख, प्रदेश सभा सांसद र प्रतिनिधि सभा सांसदका उम्मेदवारले पनि बसपार्कलाई मुद्दा बनाए । तर निर्वाचन जितेपछि यसतर्फ कसैको ध्यान गएको छैन । जिम्मेवार निकायसमेत विभिन्न बहाना देखाउँदै पञ्छिन खोज्छ । महेन्द्र राजमार्गसँग जोडिएको यो क्षेत्रमा बसपार्कको उचित ब्यबस्थापनको थालनी तत्काल नगर्ने होे भने यसले ठूलो दुर्घटना निम्त्याउने जोखिम छ ।

Logo