चर्चको ज्यादतीः जबर्जस्ती गर्भपतन र परिवार नियोजन !

चर्चको ज्यादतीः जबर्जस्ती गर्भपतन र परिवार नियोजन !

केन्द्रबिन्दु
0
Shares

कृष्ण सिंह धामी

काठमाडौं । इटहरीकी आयुशा चौधरीले चार पटक गर्भपतन गराईन् । इटहरी–२ का अभिषेक कार्कीसँग विवाह गरेको केही महिनामै आयुशाको पेटमा बच्चा बस्यो । तर केही समयमै बाध्य भएर क्युरेट गर्नुपर्‍यो । त्यसपछि केही महिनानै फेरि गर्भ बस्यो । त्यो पनि जबरजस्ती क्युरेट गर्न लगाईयो । त्यसपछि पनि चार महिनाको अन्तरालमा फेरि उनको पेटमा बच्चा बस्यो । पेटमा बच्चा बसेको चार महिना भईसकेको थियो । कानूनले ३ महिनाभन्दा माथिको गर्भलाई गर्भपतन गराउन अपराध मानिन्छ । तर उनले चर्को दवावमा त्यसलाई क्यूरेट गराईन् ।

जति गर्भपतन गरे पनि पेटमा बच्चा बस्न थालेपछि अभिषेकलाई २० वर्षकै उमेरमा परिवार नियोजन गर्न लगाईयो । उनले २० बर्षको उमेरलाई ढाटेर २५ वर्ष भन्दै परिवार नियोजन गर्न लगाईयो । परिवार नियोजन गरेको चार वर्षपछि आयुशाको पेटमा फेरि गर्भ बस्यो । पेटमा गर्भ बसेपछि उनलाई साह्रै यातना दिईयो । सामाजिक वहिस्कार सम्मको पीडा उनले सहनुपर्‍यो । त्यसको कारण थियो, श्रीमानको परिवार नियोजन गर्दा पनि कसरी गर्भवती भईन ? भन्ने प्रश्नले उनीमाथि सबैले औला तेर्साउन थाले ।

उनी आफैं तिनछक्क परिन् । र, श्रीमानको स्वास्थ्य परीक्षण गराउँदा उनीहरुको मनमा रहेको भय समाधान भयो । चिकित्सकले उनीहरुलाई परिवार नियोजन सफल नभएको बताए । जसले गर्दा उनी गर्भवती भएकी रहेछिन् । यस्तो सबै दुःख पीडा अभिषेक र आयुशाले ईटहरीमा रहेको चर्चमा रहँदा भोगेका हुन् । अहिले उनीहरुले त्यहाँभित्रको अत्याचार सहन नसकेर बाहिर आएका छन् । उनीहरुले प्रहरीमा समेत उजुरी दिएका छन् । प्रहरी भने प्रलोभवन वा दवावमा परेर दुवै पक्षलाई मिल्न दबाब दिईरहेको छ । यतिमात्र होईन उनीहरुले आफुसँग भएको जग्गा समेत चर्चलाई दान गरे । अहिले उनीहरुको परिवार सुकुम्बासी बनेको छ ।

चर्चमा हुँदा सबैलाई बच्चा नजन्माउन सुझाव दिईन्छ । त्यति गर्दा पनि बच्चा जन्माउने प्रयास गरे जबरजस्ती गर्भपतन गर्न लगाईन्छ । अनेकन दवाव दिईन्छ । उनीहरुलाई विभिन्न प्रलोभन वा डर देखाएर बच्चा नजन्माउन भनिन्छ । अभिषेकका अनुसार सन् २०१२ मा पृथ्वी ध्वस्त हुने भन्दै उनीहरुले कुनै दम्पत्तिलाई बच्चा जन्माउन दिईएन् । ‘पृथ्वी ध्वस्त हुन्छ । बच्चा जन्माएर के गर्ने ?’ भन्दै उनीहरुले दबाब दिने गरेको अभिषेककी श्रीमती आयुशाको भनाई छ ।

त्यस्तै इटहरी–२ का वीरबहादुर राईलाई पनि सन्तान जन्माउन दिईएन् । अरु त अरु श्रीमान–श्रीमतीलाई नै एक ठाउँमा बस्न दिईएन् । सन् २०१२ मा विश्व प्रलय हुन्छ भन्दै श्रीमतीलाई सन्तान जन्माउन हुन्न भनेर एकोहोरो बनाएको उनको भनाई छ । एकोहोरो बनाईएपछि वीरबहादुरकी श्रीमती अनुले कहिल्यै सन्तान जन्माउन मानिनन् । धन्न मेरो छोरी जन्मिईसकेको भएर मात्र, नभए म निःसन्तान बन्नेवाला थिएँ,’ उनले दुखेसो पोखे, ‘यो धर्मात्माहरुको भन्दा पनि पापात्माहरुको स्थान हरेछ ।’

पछिल्लो समय चर्चका विरुद्ध आवाज उठाउन थालेपछि उनीहरुमाथि आक्रमण हुन थालेको छ । वैशाख ७ गते शनिवारको राति सोही चर्चकी विश्वासी प्रमिला राईको समूहले अनु राईमाथि आक्रमण गरेको थियो । चर्चमा रहेका नेपालीहरु कोरियाली पादरीको नेतृत्वमा आक्रमण गर्न आएका थिए । कोरियाली धर्म प्रचारकको कारण इटहरीको धेरै परिवारको बिल्लीबाठ भएको छ । भिजिट भिसामा नेपाल आएका कोरियाली नागरिक सङ जा हानका कारण परिवारभित्रै विग्रह सुरु भएको पीडितहरुको आरोप छ ।

अर्का एक युवाले पनि यस्तो दुखेसो व्यक्त गरेका छन् । उनले भने, ‘मेरो परिवारमा पनि त्यही चर्चको कारण समस्या आइरहेको छ । आफू बाहिरै बसेर धर्ममा लाग्ने बताए पनि श्रीमतीले सधै चर्चमा नबसे डिभोर्स गर्ने धम्की दिँदै आएकी छन् । अहिले पनि म उनलाई धेरै माया गर्छु तर त्यही कोरियालीले कन्भिन्स गराएको कारण श्रीमती मबाट छुट्न चाहन्छिन् ।’ अहिले उनीहरुको डिभोर्सको प्रक्रिया अगाडि बढेको छ ।

इटहरीमा मात्रै धेरै परिवार चर्चहरुको लहलयमा लागेर बच्चा जन्माउनै मान्दैनन् । कोहीका श्रीमती बच्चा जन्माउन अस्वीकार गर्छन्, त कोही श्रीमान । त्यो क्षेत्रमा धेरै जसोका परिवार नै समस्यामा परेका छन् । चर्चले उनीहरुलाई एकोहोर बनाईदिने र बच्चा जन्माउन अस्वीकार गर्ने पीडितहरुको भनाई छ । अहिले उक्त मुद्दा प्रहरी समक्ष पुगेको छ ।

इटहरीकै १५ सय जना पीडितः
विगत ४–५ वर्षदेखि इटहरीमा चर्च सञ्चालन गर्दै करिब १५ सय जनालाई जबरजस्ती धर्म परिवर्तन गर्न लगाईएको छ । कोरियाली नागरिक सङ. जे. हुन. ले विगत ५ वर्षदेखि इटहरी–३ स्थित पुरानो रुची चाउ चाउको भवन भाडामा लिएर परमेश्वरको मण्डली विश्व सु–समाचार समाज नामक चर्च सञ्चालनमा ल्याएका छ्न । जसमा इटहरी क्षेत्रमा झण्डै १५ सय मानिस आवद्ध छन् ।

उनीहरु सबैलाई धर्म परिवर्तन गराएर क्रिश्चियन बनाईएको हो । विभिन्न प्रलोभन तथा डर धम्की देखाएर धर्म परिवर्तन गराउने गरिएको अभिषेकको भनाई छ । अर्की पीडित अनु राईले पनि नेपालीहरुको सोझोपनको फाईदा उठाउँदै लुटपाट नै मच्चाएको बताईन् । कोरियाली नागरिक हुनले केही नेपालीलाई आफ्नो विश्वासमा लिएर ठगी गर्दै यताबाट कमाएको पैसा कोरियामा छोरीको नाममा पठाउने गरेको बताईन् ।

कसरी आयो घटनाको रहस्य बाहिरः

चर्चका पादरीहरुले सन् २०१२ मा पृथ्वी ध्वस्त हुन्छ भन्दै भ्रम फैलाए । त्यो समय वित्यो तर पृथ्वी ध्वस्त भएन् । चर्चभित्रका अभिषेक कार्की, उनकी श्रीमती आयुशा, अनु राई लगायतले त्यसबारे प्रश्न उठाए । त्यसको जवाफ दिने क्रममा चर्चका पादरीहरुले ‘परमेश्वरले हामी पापीहरुलाई लान मानेनन्, अब सन् २०१४ मा लैजानुहुन्छ’ भन्ने जवाफ दिईयो ।

सन् २०१४ मा पनि त्यो भएन्, त्यसपछि सन् २०१८ मा लैजान्छ भन्यो त्यो पनि नभएपछि उनीहरुले चर्चका पादरीलाई १५ वटा प्रश्न राखे । पादरी कोरियन नागरिक सङले कुनै जवाफ दिएनन् । जवाफ दिनुको साटो धम्की दिन थाले । त्यसपछि वैशाख ७ गते शनिवार बेलुका कोरियन नागरिक सङले उनीहरुमाथि गाली गलौज गर्न थाले । त्यत्तिकैमा चर्चबाट करिब २ सयको संख्यामा आएका अनुयायीहरुले उनीहरुमाथि कुटपिट गर्न थाले ।

आफुहरुले राखेको १५ वटा प्रश्नको जवाफ दिन नसकेपछि उनीहर जान छाडे । चर्च जान छाडेको २ दिन भएको थियो । उनीहरु घरमै आएर हातपात गर्नुका साथै अपशब्द प्रयोग गरेर गालीगलौज गर्न थाले । त्यसपछि उनीहरुले प्रहरीमा उजुरी दिए । प्रहरीमा गएर मिलापत्रको कुरा गर्दा उल्टै पीडित पक्ष माथिनै विभिन्न आरोप लगाईयो । त्यसपछि बल्ल खुल्यो चर्चभित्रको हत्कण्डा ।

किन गरिन्थ्यो बच्चा नजन्माउन दबाब ?

सुरुमा क्रिश्चियन बनाउन उनीहरुले विभिन्न प्रलोभन दिन्छन् । कसैलाई आर्थिक सहयोगको प्रलोभन दिन्छन् भने कसैलाई अन्य प्रलोभन देखाउँछन् । उनीहरु विशेषगरी गरिब, अशिक्षित, कमजोर घरपरिवारलाई आफ्नो निसानामा पार्छन् । अभिषेकका अनुसार यसरी प्रलोभन पार्दै चर्चका बारेमा, बाईबलमा उल्लेख भएका कुरा सिकाउँछन् । यसरी सिकाउँदै गर्दा डर, धाक, धम्की समेत दिन्छन् । अर्को रोचक कुरा त के भने दम्पत्तिहरुलाई बच्चा जन्माउन नै दिदैंनन् । बच्चा जन्माउन थाल्यो भने प्रतिबन्ध नै लगाउँछन् । चर्चमा आबद्ध रहेर विवाह गरेका जोडीलाई हेर्दा पनि थाहा हुन्छ कि कति जनाले बच्चा जन्माएका छन् ।

उनीहरुले सिधै बच्चा नजन्माउ त भन्दैनन् । त्यो भने त आपत्तिको कुरा भईहाल्यो । तर नियम नै बनाएर बच्चा जन्माउँन प्रतिबन्ध नै लगाईएको छ । यदि कसैले चर्चमा बच्चा जन्मायो भने २ वर्ष बाहिर बस्नुपर्ने नियम बनाईयो । त्यस्तो व्यक्तिले पादरी कर्मचारीको रुपमा काम गर्न पाउँदैन् । २ वर्ष बाहिर बसेपछि पनि त्यो व्यक्ति योग्य छ कि छैन् भनेर चेक गरिन्छ । अभिषेक भन्छन्, ‘चेक गरेर योग्य भएमात्र पादरी कर्मचारीको रुपमा स्वीकार गरिन्छ ।’

‘पादरी कर्मचारीहरु सर्वस्व सकिएका व्यक्तिहरु हुन्छन् । सबै धन सम्पत्ति सकिएको व्यक्तिले तुरुन्तै गएर बच्चा जन्माउने सामर्थ त हुदैन् । यदि बच्चा पायो भने, ‘एउटा पापी पृथ्वीमा आयो भने, के यो खुशीको कुरा हो र ? होईन नि । भन्छन् । त्यस्तै बच्चा पायो भने सु–समाचारमा बाधा पुग्छ । बच्चा पाएका व्यक्तिले गलत कुरा सिक्छन् । उनीहरुका बच्चाले गलत कुरा सिक्छन्’ भनेर सबै अनुयायीहरुलाई सिकाईने अभिषेकको भनाई छ । बच्चा नपाउनु भन्नुको कारण नै यही भएको उनको भनाई छ । उनीहरुले चर्च छाडेको घोषणा गर्दै अन्य नेपालीहरुमाथि भईरहेको ज्यादतीमाथि पनि छानविन गर्न माग गरेका छन् ।

प्रहरी के भन्छ ?

यस घटनाका सम्बन्धमा बुझ्न इलाका प्रहरी कार्यालय ईटहरीमा सम्पर्क गर्‍यौ । हाम्रो सम्पर्कमा आएका डिएसपी समिरचन्द्र खरेलले यो उनीहरुको आन्तरिक विषय भएको प्रतिक्रिया दिए । ‘चर्चभित्रको आन्तरिक विवाद रहेछ । चर्चभित्र नै दुईवटा पक्ष रहेछ । एक पक्षले अर्को पक्षलाई धम्की दियो, हाम्रो सुरक्षा गरिपाउँ भनेर निवेदन दिएका थिए । दुवै पक्षलाई बोलाएर छलफल गराईदिएका हौं । आपसमा मिल्नुहोस । तर झगडा गर्ने काम नगर्नु होस भनेर पठाएका छौं ।’ डिएसपी खरेलले भने ।

बाहिर धेरै विषय आए पनि प्रहरीमा शान्ति सुरक्षा गरिपाउँ भन्ने मात्र निवेदन आएको उनको भनाई छ । आफुहरुमा थप उजुरी आएको खण्डमा आवश्यक कारवाही गरिने बताउँदै अहिले उनीहरुकै आन्तरिक विवाद भएकाले आपसमै मिल्न भनेको डिएसपी खरेलले बताए । कोरियन नागरिक सङ आफुहरुको सम्पर्कमा नआएको भन्दै आवश्यक परेको खण्डमा उनीमाथि पनि छानविन गर्न आवश्यक कारवाहीको लागि प्रक्रिया चाल्ने डिएसपी खरेलको भनाई छ ।

प्रहरीमा जाहेरी दिएर तर प्रहरीले दर्ता नगरेको भन्दै पत्रपत्रिमा आएको आईरहेको भन्दै डिएसपी खरेलले भने, ‘यस विषयमा हामीकहाँ कुनै पनि जाहेरी आएको छैन् । शान्ति सुरक्षा गरिपाउँ भन्दै निवेदन दिएका हुन् । त्यसको आधारमा दुवै पक्षलाई मिलाएका हौं । अब उनीहरुले हामीमाथि गालिगलौज तथा हातपात भयो भन्ने कुरा गर्नुभएको थियो । त्यसको लागि अदालत छ, वडा कार्यालय छ, स्थानीय तहको न्यायिक समिति छ । त्यहाँ जानु तर झगडा चाँही नगर्नु भन्दै पठाएका हौं ।’

किन भए कोरियन नागरिक फरार ?

‘इन्टरनेसनल वी लभ यु’ फाउन्डेसनको नाममा नेपाल छिरेका सङ जा हान इसाई धर्म प्रचारक हुन् । उनी यो क्षेत्रमा निकै सक्रिय छन् । विभिन्न पूर्वाधार निमार्ण गर्ने उद्देश्यले नेपाल छिरेको उक्त संस्थाको नेपाल प्रमुख हुन् उनी । हाल ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन)’ मार्फत धर्म प्रचार गरिरहेका छन् ।

उनी उक्त घटनापछि फरार छन् । अहिलेसम्म नत प्रहरीको सम्कर्पमा छन् । नत चर्चको सम्पर्कमा । पीडितहरुले भने चर्च र प्रहरी दुवैको मिलेमतोमा ति कोरियनलाई लुकाएको आरोप लगाएका छन् । पीडित अभिषेकले भने उनलाई नियन्त्रणमा लिएर आवश्यक छानविन गरेको भए धेरै रहस्य बाहिर आउँथ्यो । तर प्रहरीले नै चाँसो राख्नेको छैन् । डिएसपी खरेलले पनि उनी आफुहरुको सम्पर्क बाहिर रहेको प्रतिक्रिया दिए ।

अहिलेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान गर्न नसकिने भन्दै पीडित भनिएकाले जाहेरी दिएको खण्डमा मात्र थप कारवाही प्रक्रिया अगाडि बढ्ने बताए ।

Logo