राष्ट्रपति सवार जहाजको भाडा १ करोड ६५ लाख

राष्ट्रपति सवार जहाजको भाडा १ करोड ६५ लाख

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मध्य चीनको सान्सी प्रान्तस्थित सियान पुगेकी छन् । नेपाल वायुसेवा निगमको जहाज ‘चार्टर’ गरेर राष्ट्र प्रमुख सियान पुगेकी हुन् । सियानस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उप गभर्नर लगायतका अधिकारीले स्वागत गरेका छन् । विमानस्थलमा चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल, सियानस्थित नेपाली प्रोफेसर डा. राजिवकुमार झा लगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली भ्रमण टोली बुधबार सियानमै रहनेछ। बिहिबार सान्सी प्रान्तका गभर्नर सहितका नेताहरूले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। बिहिबार राष्ट्रपति भण्डारीले चीनको प्रसिद्ध विश्व सम्पदा केन्द्र टेराकोटा वारियर र तायनथा फाउन्टेन अवलोकन गर्ने कार्यक्रम छ । बिहिबार साँझ राष्ट्रपति भण्डारी बेइजिङ जानेछिन् ।

गणतन्त्र स्थापनापछि राष्ट्र प्रमुखले राष्ट्रिय ध्वजावाहक विमान ‘चार्टर’ गरेर चीन गएको यो पहिलो पटक हो । यसअघि अघिल्लो वर्ष जुन १९ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा निजी क्षेत्रको हिमालयन एयरलाइन्स ‘चार्टड’ गरिएको थियो।

राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरुसहित ४३ सदस्य रहेका छन । राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमण पूरा गरी आगामी बैशाख १९ गते स्वदेश फर्कन कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीको लागि सरकारले नै प्लेन चार्टर गरेको हो । तीन दिनको भाडा मात्रै १ करोड ६५ लाख रुपैयाँ रहेको जनाईएको छ । जुन रकम सरकारले नै व्यहोर्ने छ । एक सय ५८ सिटे न्यारोबडी जहाज चार्टर्ड गरिएको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए । जसमा ४३ जना सवार छन् ।

Logo