दाईजो नदिँदा १ वर्षमा ५ महिलाको हत्या

दाईजो नदिँदा १ वर्षमा ५ महिलाको हत्या

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी

काठमाडौं ।

घटना नं. १
२०७५ सालको अन्त्यमा वीरगञ्जकी एक महिलाले ज्यान गुमाईन् । दाईजोको विषयलाई लिएर डाक्टर श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी वीरगञ्ज महानगरपालिका–२० की सुनिता यादवको ज्यान गएको थियो । डाक्टर सचितानन्द यादवको कुटाईबाट उनी गम्भीर घाइते भएकी थिईन् । उपचारकै क्रममा उनको त्रिवि शिक्षण अस्पतामा ज्यान गएको थियो । उनी १५ वर्षदेखि बच्चा नपाएको तथा दाईजो कम दिएको भन्दै निर्मम यातना सहदै आएकी थिईन् ।

घटना नं. २
पर्साकी रिंकु पटेलको पनि २३ वर्षकै उमेरमा हत्या गरियो । दाईजो बाफत उनको नाममा आएको ५ कट्टा खेत बेच्न नमान्दा उनी आफ्नै ससुराबाट मारिईन् । घरपरिवारले आत्महत्या गरेको बताएपनि माईतिपक्षले दाईजोको कारण छोरीको हत्या गरिएको भन्दै प्रहरीमा रिंकुका परिवारविरुद्ध मुद्दा हालेका थिए ।

घटना नं. ३
धनुषाकी २० वर्षीया कृति झाको भारतमा हत्या गरियो । दाईजो कम ल्याएको भन्दै भारतको मधुवनीमा कृतिको श्रीमान र ससुराले हत्या गरे । दुई वर्ष अघि तीन लाख रुपैयाँ दाइजो लिएर बिहे गरेका कृतिकाका श्रीमान रन्धीर मिश्राले दाईजो थोरै भएको र थप दाईजो ल्याउन दवाव दिदैं आएका थिए । तर उनले ल्याउन नमानेपछि हत्या गर्दै उनको शव नेपाली सीमा क्षेत्रमा नै फालेका थिए । फेला परेको शव जलाउने प्रयास गरेपनि माईतबाट कृतिका दाई राजीव कुमार झा र उनका नातेदारहरू समयमै घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिएर परिक्षण गरिएको थियो । शवको पोष्टमार्टम रिपोटमा घाँटी थिचेर मारेको पत्ता लागेको थियो ।

यि केवल प्रतिनिधी घटना मात्रै हुन् । दाईजोको नाममा थुप्रै महिलाले अकालमै ज्यान गुमाउन पुगेका छन् । २०७५ सालमा मात्रै दाईजोको कारण ५ महिलाले ज्यान गुमाएका छन् । एक वर्षको अवधीमा ३२ महिलामाथि दाईजोको नाममा यातना दिईएको छ । कतिपय महिलामाथि कुटपिट, जिउँदै जलाउने प्रयास सम्मका घटना भए । गत आर्थिक वर्षमा मात्र ५८ महिनामाथि दाईजोको नाममा चरम यातना दिईएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । त्यस्तै चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ३२ महिलामाथि दाईजोको नाममा कुटपिट गरिएको हो ।

तथ्यांक स्रोतः नेपाल प्रहरी हेडक्वार्टर ।

दाईजोको कारण सबैभन्दा बढी प्रदेश २ मा महिलाहरुमाथि कुटपिट गरिएको छ । प्रदेश २ मा मात्रै यो वर्ष २४ जना महिलामाथि कुटपिट गरिएको छ । त्यस्तै प्रदेश ५ मा ८ महिलामाथि यातना दिईएको छ । भने अन्य प्रदेशमा दाईजोको नाममा कुनै पनि घटना नघटेको प्रहरीको तथ्यांकले देखाएको छ । त्यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पनि सन् २०१८ मा महिला हिंसाका घटना सबैभन्दा बढी भएको जनाएको छ । यस वर्ष महिला तथा बालिका बलात्कार र यौन दुव्र्यवहारका घटना गत वर्षभन्दा भएको इन्सेकको ठहर छ । यो वर्ष परिवारजनबाटै १ सय २० महिलाको हत्या भएको छ ।

दाईजो जस्तो जघन्य घटनामा पनि मिलापत्रः
वीरगन्जकी सुनिताको विवाह राम्रो खानदानी परिवारको केटोसँग भएको थियो । विवाह भएको केही समयबाटै डाक्टर श्रीमानसहितका परिवारले यातना दिन थाले । बेला बेला कुटपिट हुन थालेपछि अबदेखी राम्रोसँग पालनपोषण गर्ने भनि सहमति गरियो । सहमति गरेको केही समयमै डाक्टर श्रीमान सचितानन्द यादवको बर्बर यातना सहदा सहदैं अन्तिम प्राण त्यागिन । उनले १५ वर्षसम्म बच्चा नजाएको तथा दाईजो कम दिएको आरोपमा यातना सहन बाध्य भईन् ।

प्रहरीकहाँ गएर जुन सहमति गरियो त्यसै सहमतिले अन्ततः उनको ज्यान लियो । दाईजोको नाममा हुने यातनामा मिलापत्र गरिन्छ । माईती र घर परिवार दुवैको सहमतिमा यस्ता यातनामा पनि मिलापत्र गराईने गरेको हो । या त मागेजति दाईजो दिने या त विवाहपछि पनि थप दाईजो माग्दा दिने या त यातना सहेर बस्ने तराई मधेशका छोरी चेलीको नियती नै बनेको छ । जतिसुकै पढेलेखेका वा सक्षम भएपनि दाईजो दिनैपर्ने हुन्छ । यो समस्या विशेषगरी प्रदेश २ मा बढी छ । विभिन्न तथ्यांकले पनि यहि देखाउँछ ।

बाबु–आमाका लागि छोरी जन्मिुन पापः
जिन्दगीको मूल्य कति हुन्छ ? भनिन्छ– अनमोल । तर, मधेसका धेरै छोरीचेलीका लागि त्यही जिन्दगी एक धर्को सिन्दूरभन्दा धेरै सस्तो भइरहेको छ । दाइजोका नाममा महिलाहरुले मृत्युलाई रोज्नु परेको छ । भने कतिपयले त लामो जिन्दगी पलपल मरेर बाँचिरहनुपरेको छ । कतिले बाँच्छु भन्दाभन्दै मर्नु परिरहेको छ । तराई मधेशमा विकराल रुपमा विकसित भईरहेको दाईजो प्रथाले संयौं छोरी चेलीले अकालमै ज्यान गुमाउन बाध्य भईरहेका छन् । आमा बाबुलाई छोरी जन्माउनु कुनै जुनीको पाप जस्तै लाग्न थालेको छ ।

रौतहटका रामअवतार यादव विगत १५ वर्षदेखि काठमाडौंमा बस्छन् । उनी विहान–बेलुका र राति पनि काम गर्छन् । घरमा श्रीमती, दुई छोरी र एक छोरा छन् । उनी रातदिन भोक, तिर्खा, निन्द्रा नभनी काम गर्नुको एउटै कारण हो, छोरीहरुको विवाह । गत वर्ष जेठी छोरीको विवाह गर्दा ५ लाख रुपैयाँ नगद, १ मोटरसाईकल र करिब १ लाख बराबरको गरगहना दाईजोमा दिए । विवाहको लागि कुरा चल्दा केटा पक्षबाट १० लाख रुपैयाँ मागियो । आफुले त्यति दिन नसक्ने भन्दै उनले विन्ती भाउँ लगाउँदा बल्ल त्यतिमा मान्न तयार भए । र छोरीको विवाह गराईदिए । उनले छोरीलाई दाईजोमा दिएको सबै रकम ऋण निकालेका थिए । त्यो ऋण तिर्नकै लागि पनि उनी रातदिन अहोरात्र खटिएर काम गर्छन् ।

गहभरी आशुँ बनाएर आफ्नो पीडा यसरी पोख्छन्, ‘जसोतसो एउटा छोरीलाई त पठाए । अब अर्की छोरी पनि छे । अहिले १८ वर्षकी भईन् । केही वर्षमा त उनको पनि विवाह गर्ने समय आईहाल्छ । त्यतिञ्जेलसम्म यो ऋण तिर्न सकिदैन् जस्तो छ । यहि चिन्ताले राम्ररी खाना खान पनि पाउँदिन् । राति सुत्न खोज्दा निन्द्रा समेत लाग्दैन् ।’

के छ कानूनी व्यवस्था ?
नेपालको कानूनले दाईजो लिन र दिनुलाई अपराध मान्छ । तर तराई मधेशमा कानूनको कुनै अर्थ छैन् । कानूनलाई आत्मसाथ गर्न थाल्यो भने छोरीहरुको विवाह नै नहोला भन्ने डर आमा–बाबुलाई भईरहन्छ । कानूनमा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चल अचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको शर्त राखी विवाह गर्न नहुने व्यवस्था गरिएको छ ।

यदि यसरी दाइजो मागेमा वा लेनदेनको शर्त राखेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ऐनमा व्यवस्था छ । विवाह गरिसकेपछि दाइजो वा सम्पत्ति मागेमा वा त्यसको निहुँमा दुलही वा उसको नातेदारलाई हैरानी दिएमा, सताएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म कारवाहीको व्यवस्था गरिएको छ ।

Logo