एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती, जनप्रतिनिधिको आश्वासन मात्रै

एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती, जनप्रतिनिधिको आश्वासन मात्रै

केन्द्रबिन्दु
0
Shares

पवन मुडभरी

कैलाली । मोहन्याल ३ फलेबिसौनाका ३६ वर्षीय मदन राना श्रीमती कमलालाई प्रसुती गराउँन स्वास्थ्य चौकी पुगे । श्रीमतीको प्रसूती त भयो । तर उच्च रक्तश्राव भएपछि स्वास्थ्य चौकीमा उनको उपचार सम्भव भएन । स्वास्थ्य चौकीले सेती अञ्चल अस्पताल रिफर गर्यो। त्यसपछि उनी समस्यामा परे।

अन्यत्र लैजान एम्बुलेन्स नपाउँदा निराश बने। अस्पतालमा गम्भीर अवस्थाकी श्रीमती छोडेर उनी एम्बुलेन्स खोज्न दुई किलोमिटर हिडेर बौनिया बजार दौडे । “उपचार गराउनै निकै कठिन भयो,” उनले भने “बिरामीलाई मोटरसाइकलमा आउजाउ गराउन नमिल्ने, एम्बुलेन्स नहुँदा सास्ती भयो।” एक घण्टापछि उनले एक निजी अस्पतालको एम्बुलेन्समा महँगो शुल्क तिरेर श्रीमतीलाई सेती अञ्चल अस्पताल लगे।

त्यस्तै जोशीपुरका रमण जैसी आमालाई लिएर स्वास्थ्य चौकी पुगे। खुट्टा भाचिँदा आमाको उपचार स्वास्थ्य चौकीमा सम्भव भएन। आमालाई नेपालगञ्ज लैजानुपर्ने भयो । तर उनलाई पनि एम्बुलेन्सकै समस्याले सतायो । बौनिया बजारमा भेटिएका उनले भने, “स्वास्थ्य चौकीमै एम्बुलेन्स भइदिएको भए सजिलो हुन्थ्यो । अब समस्या परेको बेला एम्बुलेन्स खोज्न कहाँ जानु ?” जोशीले एम्बुलेन्स नै पाएनन् । उनले आमालाई एक निजी पिक अप भ्यानमा पाँच हजार तिरेर नेपालगञ्ज पुर्याए।

यि त केही प्रतिनिधि घटना मात्रै हुन् । कैलालीको मध्यवर्ती क्षेत्र बर्दगोरिया गाउँपालिकाको दोदोधरा स्वास्थ्य चौकीमा आउने जटिल प्रकृतिका बिरामीले यस्ता समस्या दैनिक भोग्नुपर्छ । स्वास्थ्य चौकीमा एम्बुलेन्स नहुँदा बिरामीहरू महँगो शुल्कमा निजी अस्पताल र निजी गाडीमा समेत बिरामी ओर्सान बाध्य छन्। विशेष गरी प्रसूती गराउँन आउने महिलाहरू र तिनका परिवार बढी समस्यामा पर्ने गरेका छन् ।

स्वास्थ्य चौकीकी सिनियर अनमी निर्मला ढकालका अनुसार स्वास्थ्य चौकीमा साविकको दोदोधरा र हालको बर्दगोरीया गाउँपालिकाका ५ वटा वडा र घोडाघोडी नगरपालिकाको साँँढेपानी, बछुरीयाबाट बिरामीहरू आउँछन् । त्यस्तै लम्कीचुहा नगरपालिकाको चुहा, प्रतापपुर, मोहन्यालको फल्लेबिसौना, चाया भावर, बडीकाथाई र जोशीपुरका केही वडाका बिरामीहरु समेत सेवा लिन आउँछन्।

महिनामा ३० देखि ४० जना प्रसुती गराउन आउने गाउँपालिकाको ४ दशक पुरानो स्वास्थ्य चौकीको स्तरोन्नती हुन सकेको छैन। पूर्वपश्चिम महेन्द्र राजमार्गबाट करिब २ किलोमिटरको दूरीमा रहेको स्वास्थ्य चौकीमा एम्बुलेन्स नहुँदा बिरामी समस्यामा पर्ने गरेको ढकालले बताइन् । उनले भनिन्,“एम्बुलेन्सको नभएपछि गोरुगाडा (डल्लप) राखेर बिरामीहरू स्वास्थ्य ल्याउँछन् । प्रसूति गराउँन आउने महिला समयमा आइपुग्दैनन् । तिनका परिवारले ढिलो गरी मात्रै स्वास्थ्य चौकी पुर्याउँछन् जसका कारण आमा र बच्चा दुबैको ज्यान जोखिममा हुन्छ।”

जनप्रतिनिधिका आश्वासन मात्रै:
स्वास्थ्य चौकीका प्रमुख कृष्णदेव जोशीले स्थानीय जनप्रतिनिधिले एम्बुलेन्स ल्याउने प्रतिबद्दता जनाएपछि हालसम्म वास्ता नगरेको बताए। उनले भने, “केही दिनमा एम्बुलेन्स आउँछ भनेको महिनौ बितिसक्यो। आर्थिक वर्ष सकिन पनि अब २ महिना मात्र बाँकी छ। तर एम्बुलेन्स कहिले आउने केही टुंगो छैन।” स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने प्रतिबद्दता नेताहरुले जनाएपनि आश्वासनमै सीमित रहेको जोशीको भनाई छ।

केही महिना अघि सुदुरपश्चिम प्रदेशका तत्कालिन सामाजिक विकास मन्त्री दिर्घ सोडारीले स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाउन पहल गर्ने प्रतिवद्दता जनाएका थिए । प्रदेश सभा सदस्य नन्द बहादुर साउँदले पनि आगामी आर्थिक वषर्मा १५ शैयाको अस्पताल निर्माण गर्ने आश्वासन दिएका थिए।

यता स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडाले भने एम्बुलेन्स ल्याउने काम अन्तिम चरणमा रहेको बताए । एक हप्ताभित्रै स्वास्थ्य चौकीमा एम्बुलेन्स आइपुग्ने उनले जिकिर गरे ।

औषधिको समेत अभावः
६ जना स्थायी र ५ जना करारमा गरी ११ जना कर्मचारी रहेको स्वास्थ्य चौकीमा दैनिक सयौंको संख्यामा बिरामीहरू आउछन् । स्वास्थ्य चौकीले ३६ प्रकारका औषधिहरु निःशुल्क दिनुपर्ने भएपनि बिरामीको चापका कारण औषधि अभाव रहेको स्वास्थ्य चौकी इन्चार्ज कृष्णदेव जोशीको भनाई छ ।

Logo