सिआइबीद्वारा ‘ठगी’ को समाचार लेखेको भन्दै सम्पादक गिरी पक्राउ

सिआइबीद्वारा ‘ठगी’ को समाचार लेखेको भन्दै सम्पादक गिरी पक्राउ

केन्द्रबिन्दु
0
Shares

पोखरा । ठगीको समाचार लेखेको भन्दै पोखराबाट एक सम्पादक पक्राउ परेका छन् । पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

बतास कम्पनीका वीपेन्द्रराज बतासबारे ठगीको समाचार लेखेको भन्दै गिरीलाई कास्की प्रहरीले पक्राउ गरेको हो । बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए।

सिआइबीले गिरीलाई पक्राउ गरिदिन कास्की प्रहरीलाई पत्र लेखेको थियो। सिआइबीको पत्रअनुसार गिरीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरूङले जानकारी दिए । आफुहरुलाई मुद्दाबारे कुनै जानकारी नभएको भन्दै डिएसपी गुरुङले भने, ‘मुद्दाबारे हामीलाई थाहा छैन। मुद्दा केन्द्रले नै हेर्ने हो।’

सिआइबीका प्रमुख डिआइजी निरज शाहीले पत्रिका दर्ता नगरी आफूविरुद्ध समाचार लेखेको उजुरीका आधारमा गिरीलाई पक्राउ गरिएको बताए। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर नै अनुसन्धानको लागि नियन्त्रणमा लिईएको उनको भनाई छ ।

सम्पादक गिरीले भने आफ्नो पत्रिका र अनलाइन दुबै दर्ता भएको दाबी गरे। पत्रिका जिल्ला प्रशासन कार्यालय र अनलाइन प्रेस काउन्सिलमा सबै प्रक्रिया पूरा गरिएको भन्दै बतासले प्रहरीलाई आर्थिक प्रभावमा पारी आफुलाई फसाउन खोजेको आरोप लगाए ।

गिरीले ताण्डवको चैत २२ गतेको अंकमा ‘ठग ! बदमास वीपेन्द्रराज बतास’ शीर्षकको समाचार लेखेका थिए। सोही समाचार ताण्डवन्युज डटकममा प्रकाशित भएको थियो। समाचारमा बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमशः १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उल्लेख छ।

तस्बिरः ताण्डब न्यूज । (ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीलाई नियन्त्रणमा लिएर काठमाडौं ल्याईदैं ।)

Logo