किन झुक्किन्छन् प्रधानमन्त्रीदेखि सांसदसम्म ?

किन झुक्किन्छन् प्रधानमन्त्रीदेखि सांसदसम्म ?

केन्द्रबिन्दु
0
Shares

कृष्ण सिंह धामी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ को नारा अगिंकार गरेका छन् । उनले पटक–पटक भन्दै आएको एउटै बोली हो, ‘म आफु पनि भ्रष्टाचार गर्दिन्, अरुले गरेको पनि देख्न सक्दिन् ।’ तर बेला बेला सार्वजनिक हुने घटनाले प्रधानमन्त्रीको उक्त नारालाई थप चुनौती दिईरहेको छ ।

कहिले सिंहदरवारकै जग्गा किनबेच, कहिले मन्त्रीहरु दोहोरो सुविधा लिने त कहिले प्रधानमन्त्रीलाई नै झुक्काउने विषयले प्रधानमन्त्रीलाई शुसासन तथा शून्य सहनशीलतालाई चुनौती दिईरहेको हो । देशकै कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई समेत झुक्याउनेले सामान्य नागरिकलाई के गर्लान् ? त्यो कल्पना भन्दा बाहिर विषय हुनसक्छ । केही यस्ता उदाहरण प्रस्तुत गरेका छौं, जसले सत्तारुढ दल नेकपा तथा सरकारलाई पंगु बनाईरहेका छन् ।

१) प्रधानमन्त्री को बाट झुक्किए ?
नेपालमा बार्षिक २ लाख ८० हजार मेट्रिक टन चिनीको माग छ । त्यो मध्ये नेपाली चिनी उद्योगबाट १ लाख २० हजार मेट्रिक टन उत्पादन हुन्छ । बाँकी विदेशबाट आयात गर्नुपर्ने हुन्छ । चिनी व्यवसायीहरुले चिनी आयात बन्द गर्न सरकारलाई अनुरोध गरेपछि गत ३१ भदौमा सरकारले चिनी आयातमा रोक लगायो ।

नेपालमा आवश्यकता भन्दा बढी चिनी आयत भएको भन्दै व्यवसायीहरुले आयात बन्द गराउन अनुरोध गरेसँगै सरकारले उक्त निर्णय गरेको थियो । सरकारले चिनी व्यवसायीको आग्रहमा उक्त निर्णय गर्दा उपभोत्ता निकै मार परे । निर्णयपछि चिनी अभाव त भएन तर, मूल्य आकासियो । ६५ रुपैयाँ प्रतिकिलो पर्ने चिनीका लागि चाडपर्वको बेलामा उपभोक्ताले ९०/१०० रुपैयाँसम्म तिरे ।

सरकारी निर्णयको ६ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी ब्यापारीहरुले आफुलाई गलत तथ्य सुनाएर गलत निर्णय गर्न लगाएको बताएका थिए । ‘अर्को साल पनि हामी चिनी किन्न नसक्ने भयौं । यति धेरै चिनी पाकिस्तानबाट आयो कि अर्को वर्षका लागि स्टक रहने भयो । चिनी आयात रोकिदिनुपर्‍यो भनियो’, उनले भने, ‘होला भनेर रोकिदिएको भोलिपल्टदेखि बजारमा चिनी छैन ।’ प्रधानमन्त्री ओली आफै चिनी व्यवसायीहरुबाट झुक्किए । आफ्नो सरकारी संयन्त्र मार्फत कुनै अनुसन्धान नगरी चिनी व्यवसायीको भरमा पर्दा प्रधानमन्त्री नराम्रोसँग चिप्लिए

२) नेकपा महासचिव विष्णु पौडेल जग्गा दलालबाट झुक्किएः
सत्तारुढ दल नेकपा महासचिव विष्णु पौडेलले सिंहदरबारभित्र नै जग्गा किनेको विषयले निकै चर्चा पाईरहेको छ । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा महासचिव पौडेलको पनि जग्गा रहेको खुलेपछि यसले निकै चर्चा पाएको हो । व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेका छन् । यो विषय सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएका हुन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलका छोरा नवीनको नाममा ललितानिवास परिसरमा जग्गा रहेको भन्दै सार्वजनिक भएपछि महासचिव पौडेलले विज्ञप्ती नै जारी गरेर ऐन कानून अनुसार नै जग्गा किनेको दाबी गरे । उनले आफु कसैबाट झुक्किएको बताएका थिए । त्यस्तै सरकारका प्रवक्ता गोकुल बास्कोटाले समेत ‘विष्णु पौडेल अपराधी नभई जग्गा दलालबाट झुक्किएको’ भन्दै बचाउँमा उत्रिएका थिए ।

प्रवक्ता बास्कोटाले भनेका थिए, ‘नेकपाको महासचिवले यस विषयमा वक्तव्य जारी गरिसक्नुभएको छ । उहाँ फर्जी धन्दामा संलग्न भएको होइन । कसैको नाममा भइसकेको जग्गा किनेको हुँ भन्नुभएको छ । उहाँ त ठगीमा पर्नुभयो, उहाँ अपराधी होइन ।’ आखिर ठूलो पार्टीका शक्तिशाली नेता नै को बाट ठगिए त ? यो विषयमा सरकारले आवश्यक छानविन गरिरहेको छ ।

३) सांसदहरु नै घर भाडामा झुक्किएः
गत पुसमा काठमाडौंमै घर भएका सांसदहरुले राज्यकोषबाट घर भाडा लिईरहेको रहस्य पत्ता लाग्यो । पछि सांसदहरुदले घर भाडाबारे जानकारी नभएको भन्दै विज्ञप्ती नै जारी गरे । विभिन्न पार्टीका १२ जना सांसदहरुले उक्त भाडा फिर्ता गरे । नेकपाका पम्फा भुसाल, योगेश भट्टराई, यज्ञबहादुर सुनुवार, पार्वत गुरुङ, दलबहादुर राना, कांग्रेस सांसदहरु नारायण खड्का, कर्मा घले, उमेश श्रेष्ठ, बहादुरसिंह तामाङ, भीमसेनदास प्रधान, दिव्यमणि राजभण्डारी, अमरेशकुमार सिंह लगायतले घर भाडा फिर्ता गराए । उनीहरुले पनि संसद सचिवालयबाट झुक्किएर आफुहरुको खातामा घर भाडा आएको प्रतिक्रिया दिएका थिए ।

४) मन्त्रीहरु तेल काण्डमा झुक्किनेः
वर्तमान सरकारका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले पनि दुनियाँ हसाए । इन्धनमा दोहोरो सुविधा लिईरहेका मन्त्री तथा राज्यमन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीको भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ को नारालाई समेत चुनौती नै दिए । मन्त्रिपरिषद्का सदस्यहरूको पारिश्रमिक सेवा–सुविधासम्बन्धी ऐनअनुसार इन्धन खर्च लिइरहेका उनीहरूले मन्त्रालय वा मातहतका कार्यालयबाट समेत तेल लिए । तर दोहोरो सुविधा लिँदा पनि आफुलाई कुनै जानकारी नभएको बताउँदा जगत नै हासेको थियो ।

अधिकांश मन्त्रीले मन्त्रालयमा सचिवस्तरीय निर्णय गराएर एक सय ५० देखि तीन सय लिटरसम्म इन्धन लिने गरेका थिए । आफुलाई साईकल मन्त्रीको रुपमा चर्चामा आएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समेत दोहोरो इन्धन सुविधा लिएका थिए । मन्त्रीका स्वकीय सचिवहरूले पनि गैरकानुनी रूपमा मन्त्रालयबाट गाडी, इन्धनलगायतका सुविधा र स्वकीय सचिवालयका अन्य सदस्यहरूले मोटरसाइकल र इन्धन लिएका थिए ।

गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, श्रम मन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उद्योगमन्त्री मातृका यादव तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा लगायतले उक्त दोहोरो इन्धन सुबिधा लिएका थिए । पछि उनीहरुले स्पष्टीकरण दिदैं ‘आफूलाई थाहा नभएको’ बताएका थिए ।

Logo