मिथिलाञ्चलमा सुरु भयो सुखद् दाम्पत्य जीवनको कामना गर्ने ‘मधुश्रावणी’ पर्व

मिथिलाञ्चलमा सुरु भयो सुखद् दाम्पत्य जीवनको कामना गर्ने ‘मधुश्रावणी’ पर्व

केन्द्रबिन्दु
84
Shares

महोत्तरी । कला–संस्कृतिले समृद्ध मिथिलाञ्चलमा सुखद् दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व प्रारम्भ भएको छ । श्रावण कृष्ण पञ्चमीदेखि विशेष विधिका साथ १३ दिनसम्म मनाइने यो पर्वमा नवविवाहिताले शिव, पार्वती र नागदेवताको आराधनाका साथ पतिसँगको गाढा प्रेम र अटल सौभाग्यको कामना गर्दछन् ।

यो पर्वमा ब्रतालु र उनका सखी सुन्दर वस्त्रमा सजिएर सामुहिक प्रणयगान र ‘फूललोढी’ (फूल खोज्ने) विधि खास मानिन्छ । पर्वभर सामुहिक रूपमा गीत गाउँदै ‘फूललोढी’मा निस्केका मिथिलानीहरूबीच नयाँ घरको र पतिसँगको सम्बन्ध आदानप्रदान हुने गर्छ । पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामुहिक रूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भनिन्छ । यो पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी फूल चढाउने चलन छ ।

पर्वको प्रारम्भ आत्मशुद्धि र ब्रत सङ्कल्पबाट हुन्छ । ब्रतालु पर्वको एक दिनअघि नै हातगोडाका नङ् काटी नुहाइधुवाइ गरेर शुद्ध हुन्छन् । पर्वभर चोखो भोजन गरिन्छ । घरकी जेष्ठ महिला सदस्यले ब्रतालुलाई पर्वका विधि सिकाउने गर्छन् । सामान्यतया माइतीघरमा यो पर्व मनाइने प्रचलन भए पनि यस अवधिभरिको वस्त्र र खाद्यान्नभने पतिले नै पुर्‍याइदिनु पर्ने चलन छ ।

पर्वको अभीष्ट नै पतिसँगको गाढा प्रेम भएकाले सखीहरू एकआपसमा पतिले गर्ने व्यवहार, घरको अनुभव साटासाट गर्छन् । सूर्यास्त हुनपूर्व प्रणयगीत गाउँदै आकर्षक वस्त्रमा सजिएर फूललोढीका लागि निस्केका उनीहरूका गीतले बाटो हिँड्ने जोसुकैको मन खिच्ने गर्छ । यो नै पर्वको मुख्य आकर्षण हो । “नवविवाहित जोडिको प्रणय सम्बन्ध प्रगाढ बनाउने कामनाले ‘फूललोढी’ मा निस्केका मिथिलानीका रागात्मक भावका गीतले सबैलाई रोमाञ्चित गराउँछ” मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक मनोज झा भन्छन् ।

विगतमा मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब सबै जातजातिको साझा भएको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको मिथिलानी बताउँछन् ।

शिव, पार्वती र विषहराको पूजाआराधना गरेपछि ब्रतालुलाई जेष्ठ महिलाले कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीका कथा सुनाइन्छ ।

Logo