बस र जहाज दुर्घटनामा सरकारले किन गर्‍यो विभेद ? भयो चर्को आलोचना[भिडियोसहित]

बस र जहाज दुर्घटनामा सरकारले किन गर्‍यो विभेद ? भयो चर्को आलोचना[भिडियोसहित]

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । मृत्यु चाहे आकासमा होस् या जमिनमा त्यो उत्तिकै पीडादायी हुन्छ र नागरिकको अभिभावकत्व भूमिका खेलने राज्यले त्यसलाई उत्तिकै गम्भीर रुपमा लिनुपर्छ । तर, त्यो भएन । यो केही दिनको घटनाले राज्यको नजरमा जहाजमा उड्ने “सुकिला मुकिलाहरु” र बसमा गुड्ने “मैलाधैलाहरु” को जीवनको महत्व फरक भएको प्रष्ट्याएको छ ।

बुधबार काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरलाइन्सको सीआरजे ७ जहाज दुर्घटना हुँदा जहाजमा सवार १८ जनाको घटनास्थलमै निधन भयो । उक्त जहाजलाई पोखरामा मेन्टेनेन्सको कामका लागि लगिँदै थियो । जहाजमा सौर्यकै व्यवस्थापक समूह र अधिकांश इन्जिनियर तथा प्राविधिकहरू थिए । दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको टोली नै घटनास्थल पुग्यो र आकस्मिक मन्त्रिपरिषद् बैठक बसेर पाँच सदस्यीय जाँचबुझ आयोग गठनको निर्णयसँगै शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गर्यो ।

तर, गत असार २८ मा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस लेदोसहितको पहिरोमा पुरिएर त्रिशूली नदीमा बेपत्ता भयो र ६५ जना सवार यात्रुमा ६२ जना त्रिशुलीमा हेलिए ।

हालसम्म २४ जनाको मात्रै शव फेला परेको छ । अन्य यात्रु कहाँ छन् पत्तो छैन । गोताखोर मगाएर खोजी सुरु भए पनि उल्लेख्य उपलब्धि भएको छैन। मृतकका आफन्तको शवका लागि नागरिक शोकमा रहँदा केन्द्रमा दलहरू सरकार जोगाउने र आफ्नो नेतृत्वमा बनाउने राजनीतिक खेलमा व्यस्त थिए। अहिलेसम्म सरकारका कुनै मन्त्रीले पीडित परिवारलाई भेटेर सान्त्वना समेत दिएको छैन ।

त्यसपछि मृत्युमा पनि सरकारले विभेद गरेको भन्दै चौतर्फी आलोचना भएको हो । यहि जल्दोबल्दो विषयलाई लिएर केन्द्रविन्दु टोलीले सरकारको विभेदपूर्ण राष्ट्रिय शोक मनाउने निर्णयबारे सर्वसाधारणको धारणा बटुलेको छ ।

Logo