मधेशमा राखीपर्व मनाइँदै

मधेशमा राखीपर्व मनाइँदै

केन्द्रबिन्दु
56
Shares

महोत्तरी । मधेसका महोत्तरीसहित विभिन्न आज ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र बाँधिदिने परम्पराको यो पर्वलाई यहाँ ‘राखी’ भनिने गरिएको हो ।

यस क्षेत्रका बजारमा रङ्गीचङ्गी ‘राखी’ जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङ्गका रक्षासूत्र किन्न मिथिलाका नारीको भीड नै देखिएको छ । राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्टान्न परिकारको जोहोमा लागेकाले मिठाइ पसल पनि आज एकाबिहानदेखि भरिभराउ छन् ।

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइसँगैको घर आफ्नो भएकाले यिनीहरू घरमै पर्वको तयारीमा छन् । स–साना नानीहरूका लागि पर्वको तयारीमा भने घरका अभिभावकले सहयोग गर्छन् ।

मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ, दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्केका गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको छ । हिन्दू मैथिल परम्पराको यो पर्व अब पर्वते हिन्दूदेखि सबै भाषाभाषी र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको बर्दिबास–१ स्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउँछन् । सबैतिर राखीपर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्रमा आज बजारमा चहलपहल ह्वात्तै बढेको हो । मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै यो पर्वको तयारी देखिन्छ ।

पर्वमा दिदीबहिनीले राखी बाँधिदिएर मिष्टान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्रआभूषण र नगद दक्षिणा चेलीलाई दिने गर्दछन् । सनातन हिन्दू परम्पराको रक्षाबन्धन पर्वकै एक अङ्गका रुपमा राखी
स्थापित भएको यहाँका बुद्धिजीवी बताउँछन् । रक्षाबन्धन पर्वमा गुरुपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने परम्परा छ । तर मिथिलामा पर्वको मुख्य आकर्षणचाहिँ दिदीबहिनीले बाँधिदिने राखीकै हुने गरेको भङ्गाहा–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका नेपाली भाषा साहित्यका अध्यापक लीलानाथ गौतमले बताए ।

बलिका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको यस क्षेत्रमा जनविश्वास छ ।

Logo