काभ्रेको मण्डनदेउपुरमा एक किशोरीको सामूहिक बलात्कार : घटनामा संलग्न ३ जना पक्राउ

काभ्रेको मण्डनदेउपुरमा एक किशोरीको सामूहिक बलात्कार : घटनामा संलग्न ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काभ्रे
काभ्रेको मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीको सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गत चैत ३ गते साँझ मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय एक किशोरीलाई सामूहिक बलात्कार गर्ने चार जनामध्ये तीनलाई प्रहरीले पक्राउ गरेको हो । बलात्कार आरोपित मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा सोही नपा–७ का २१ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । अर्का एक किशोर भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दनुवार र राई क्रसर उद्योगका टिपर चालक हुन् भने रामकुमार सहचालक हुन् । नदीमा बालुवा सङ्कलन गर्ने ती किशोरीलाई ढाँडखोला नजीक खोलाबाट सो समूहले टिपरमा लिएर गएका थिए ।

पीडितका परिवारले चैत ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा किटानी जाहेरी दर्ता गरेका थिए । जिल्ला प्रहरीको टोलीले जाहेरी दर्ता गरेकै दिन आरोपित तीन जनालाई क्रसर उद्योगबाटै पक्राउ गरेको थियो । पीडित किशोरीलाई उद्धृत गर्दै प्रनाउ गिरीले भन्नुभयो, “म सँगै बालुवा जम्मा गर्ने हजुरआमालाई खोलामै छाडेर मलाई टिपरमा चढाएर खोला किनारमा लगेर चार जनाले जबर्जस्ती गरेका हुन् ।”

प्रहरीले चैत ५ गते नै आरोपितको म्याद थप गर्दै हिरासतमा राखी घटनाको अनुसन्धान गरिरहेको प्रनाउ गिरीले जानकारी दिनुभयो । पीडित किशोरीको सोही दिन स्वास्थ्य परीक्षण गरिएको थियो । आरोपितको कसुर प्रमाणित भएमा मुलुकी संहिता अनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।
रासस

Logo