एक महिनामा ७५८ सडक मानवको उद्धार

एक महिनामा ७५८ सडक मानवको उद्धार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–१ स्थित सडकपेटीमा शरीरभरी पोलिएर असक्त अवस्थामा भेटिए अरुणकुमार मानव । स्थानीयले दिएको सूचनाको आधारमा उद्धार गर्दा उनी सडक छेउमा रहेको परालमा गुटमुटिएको अवस्थामा थिए । उनको आफ्नै शरीरले घाउ थिचिदा परालका त्यान्द्रा अड्किएर शरीरमै गुजुल्टिएको थियो । घाउमा किरा परिसकेको अवस्थाबाट उनलाई गत पुस २७ गते मानवसेवा आश्रमले उद्धार गर्याे । अरुणका शरीरका केही भाग नचल्ने अवस्थामा थिए । उनी मनोरोगीसमेत थिए ।

आश्रमको रुपन्देही शाखाको संरक्षणमा राखेर उनको औषधोपचार जारी छ । शाखाकी सहसंयोजक टीकामाया थापा भन्छिन्, “ल्याउँदा उहाँको अवस्था दयनीय थियो, अहिले धेरै सुधार भएको छ, आफैँ खाना खान थाल्नु भएको छ ।” उद्धारको क्रममा उनले कयौँ दिन भोकै भएको अनुभव सुनाएका थिए । भारतीय नागरिक उनलाई आश्रमले नै अरुणकुमार मानव भनेर नाम राखिदिएको हो ।

यस्तै पुसको दोस्रो साता सर्लाहीको हरिवन नगरपालिका–४ पटौना अर्को घटना भेटिएको थियो । त्यहाँबाट एकै परिवारका तीन भाइ मनोरोगीको उद्धार गरिएको थियो । उनबहादुर कार्कीले केही सीप नलागेपछि कान्छा छोरा रुद्रबहादुरलाई खोरमा थुनेर राखेका थिए । जेठो र माहिलो छोरा पवन र हेमबहादुर पनि मनोरोगी छन् ।

उनबहादुर कयौँ प्रयास गर्दा पनि उनीहरुलाई पुरानै अवस्थामा फर्काउन नसकेर बाध्यताले खोरमा थुनेको सुनाउँछन् । त्यो जानकारी पाएर पुसको दोस्रो साता मानवसेवा आश्रमले उद्धार गरेकोमा उनीहरुको अवस्था क्रमशः सुधार हुँदै गएको छ । यी दुई प्रतिनिधिमूलक घटना हुन् । एक महिनामा पीडामा परेका ७५८ व्यक्तिलाई आश्रमले उद्धार गरेको छ ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सञ्चालन भएको उद्धार अभियानका क्रममा भेटिएका उनीहरुलाई औषधोपचारसहित पालनपोषण गर्ने र आवश्यक मनोपरामर्श दिएर परिवारमा मिलन गराउने अभियान जारी रहेको आश्रमका अभियन्ता होमनाथ तिमिल्सिना बताउँछन् । उनका अनुसार पुस ७ गतेदेखि शुरु भएको अभियानको यही माघ १७ गते समापनसम्म ७५८ मध्ये २३५ लाई परिवारमा मिलन समेत गराइसकिएको छ । यसअघि उद्धार गरिएका व्यक्तिसहित अहिले आश्रममा एक हजार ५२३ व्यक्तिले आश्रय पाइरहेका छन् ।

विविध कारणले मानिसहरु सडकमा आइपुग्ने गरेका छन् । त्यसमध्ये आफ्नै पारिवारिक हेलत्व पनि एउटा कारण छ । कतिले सडकमा ल्याएर फ्याँकेका समेत भेटिएको आश्रमले जनाएको छ । त्यस्ता गतिविधिले मन भक्कानिने उल्लेख गर्दै एकजना सन्त आदर्श साहेब भन्छन्, “मानव भएर मानवताका लागि अहिले जुटेनौँ भने कहिले जुट्ने ?”

एक महिने सडक उद्धार अभियानमा सहभागी युवा अर्जुन भुषाल साँच्चै नै मानवताका हिसाबले मुलुक खोक्रो रहेको पाएको बताउँछन् । यत्रतत्र मानिस बाटोमा फ्याँकिएका र कयौँ दिन भोकै बसेका, मागेरसमेत खान नसक्ने अवस्थाका मानिस भेट्दा पीडाबोध महसुस भएको उनी बताउँछन् । उनले भने, “त्यो खोक्रो भएको देशलाई आश्रमले टाल्ने काम गरेको छ ।”

वि.सं. २०६९ देखि यसरी सडक उद्धार अभियान चलाइएको थियो । सडकमा रहेका असक्त, असहाय, वेवारिसे, मनोरोगीलगायतको सेवामा जुटेको आश्रमले अहिलेसम्म पाँच हजार बढीलाई उद्धार गरी सेवा दिइसकेको छ । एक हजार ५०० बढीलाई परिवारमा मिलन गराइसकेको छ । आश्रमले त्यस्ता व्यक्तिको घर पहिचान गरी भारत, बङ्गलादेशलगायत बाह्य मुलुकमा पुगेर परिवारिक पुनःमिलन गराइसकेको छ ।

सरकारले वि.सं. २०७८ सम्म मुलुकमा सहयोगापेक्षी सडकमानव मुक्त बनाउने लक्ष्य लिएको छ । त्यसलाई पूरा गर्न आश्रम एउटा सारथी बनेर उभिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महत्तो बताउँछिन् ।

गायीका आनी छोइङ डोल्मा पनि आश्रमको कार्यबाट प्रभावित छिन् । उनले सार्वजनिक नगर्ने गरी अभियानलाई सफल पार्न लाखौँ सहयोग गरेकी छिन् । डोल्मा भन्छिन्, “आश्रम मानिसको मनमस्तिष्कमा करुणा जगाउन सफल छ, हामी सबैले साथ दिनुपर्छ ।”

प्रमुख संरक्षक गोविन्द टण्डनले दिएको नैतिक शिक्षाबाट सिकेर रामजी अधिकारीको सङ्कल्पबाट आश्रम स्थापना भएको हो । सन् २०८२ सालभित्र कोही पनि व्यक्ति वेवारिसे बनेर सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य आश्रमले लिएको छ । रासस

Logo