टोस्टमास्टर्स नेपालको ‘साइटेसन २०२४’ सम्पन्न

टोस्टमास्टर्स नेपालको ‘साइटेसन २०२४’ सम्पन्न

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। टोस्टमास्टर्स नेपालको ‘साइटेसन २०२४’ सम्पन्न भएको छ । यही भाद्र २९ गते शनिबार काठमाडौंको अलफ्टमा भएको उक्त साइटेसनमा देशभरका करिब ३०० सदस्यहरू उपस्थित रहेका थिए ।

काठमाडौं, भक्तपुर, झापा, धरान, बुटवल, भैरहवा, वीरगन्ज, नेपालगन्ज, पोखरा र चितवनका ६० भन्दा बढी क्लबका सदस्यहरू साइटेसनमा सहभागी भएका थिए । ‘टुगेदर फर हन्ड्रेड’ भन्ने नाराका साथ टोस्टमास्टर्स इन्टरनेशनलको शतवार्षिकी मनाउँदै सन् २०२६ सम्ममा नेपालमा १०० वटा टोस्टमास्टर्स क्लबको लक्ष्य हासिल गर्ने प्रतिबद्धता पनि उक्त साइटेसनमा व्यक्त गरिएको थियो ।

टोस्टमास्टर्स नेपालले हरेक वर्ष टोस्टमास्टरको सदस्यभन्दा बाहेकको एक व्यक्तिलाई उनको सञ्चार तथा नेतृत्व क्षमताका लागि ‘दि कम्युनिकेटर अवार्ड’ प्रदान गर्दै आएको छ । यस वर्षको ‘कम्युनिकेटर अवार्ड २०२४’ चर्चित मिडियाकर्मी श्री भुषण दाहाललाई प्रदान गरिएको थियो । कार्यक्रमका मुख्य वक्ता अन्तर्राष्ट्रिय मोटिभेसनल स्पीकर तथा हिन्दू पौराणिक कथाका विज्ञ श्री अतुल सत्य कौशिक साइटेसनका मुख्य आकर्षण थिए ।

कार्यक्रमको सफलताबारे बोल्दै टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ की डिस्ट्रिक्ट डाइरेक्टर मून प्रधानले भन्नुभयो, “यस वर्षको साइटेसनले नेपालको टोस्टमास्टर्स समुदाय बीचको एकताको भावनालाई प्रस्तुत गरेको छ । हामी नेपालमा टोस्टमास्टर्सको अहिलेसम्मको प्रगति देखेर निकै गर्वित छौं । यस सफलतालाई निरन्तरता दिँदै सन् २०२६ सम्म १०० वटा टोस्टमास्टर्स क्लब पु¥याउने लक्ष्य हामीले राखेका छौँ ।”

त्यसैगरी साइटेसनमा पाँचवटा डिभिजनहरूको ह्युमरस स्पिच, टोस्टमास्टर सीमा गोल्छाको स्ट्यान्ड–अप कमेडी प्रस्तुति, अन्य थुप्रैसदस्यहरूको नृत्य र गायन लगायत मनोरञ्जनात्मक प्रस्तुतिको साथमा अन्य थुप्रै सामुहिक गतिविधिहरू र पुरस्कारहरू समावेश थिए ।

यस वर्षको साइटेसनको सफलताले नेपालमा टोस्टमास्टर्सको बढ्दो चर्चा र आकर्षणलाई प्रस्ट बनाएको छ । यस साइटेसनले हरेक वर्षझैं नयाँ बेन्चमार्क सेट गर्दै आउँदो वर्षभर हुने टोस्टमास्टर्सका कार्यक्रमहरुप्रतिको उत्सुकतालाई झनै बढाएको छ ।

Logo