प्रयोगबिहीन भयो झोलुङ्गे पुल

प्रयोगबिहीन भयो झोलुङ्गे पुल

केन्द्रबिन्दु
42
Shares

तुलसीपुर । कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो ।

अचेल त्यही पुल प्रयोगबिहीन बनेको छ । करिब एकसय मिटर नजिकै पक्की मोटरेबल पुल बनेपछि झोलुङ्गे पुल प्रयोगबिहीन हुन पुगेको स्थानीय शान्तकुमार बुढाले बताए । “पहिले यही पुल नै हाम्रो लागि नदी वारपार गर्ने माध्यम थियो । त्यसताका बरदानजस्तै बनेको थियो झोलुङ्गे पुल”, उनले भने, “तर अचेल नजिकै मोटरेबल पुल बनेपछि प्रयोगबिहीन हुन पुगेको छ ।”

विगतमा राजपुर गाउँपालिकासँग राजमार्ग नजोडिएकाले यही पुलले सम्बन्ध जोडेको थियो । हाल प्रयोगबिहीन भएकाले त्यसलाई अन्य आवश्यकता भएको ठाउँमा लैजान सकिएमा त्यसको उपयोगिता हुने स्थानीको भनाइ छ । “धेरै ठाउँमा पुल छैनन्, तर यहाँ एकै ठाउँमा दुईवटा पुल भए । त्यसैले झोलुङ्गे पुल नभएको ठाउँमा लैजान सकिए नागरिकलाई सहज हुन्थ्यो”, बुढाले भने ।

यहाँ चार वर्षअघि रु ३५ करोडको लागतमा दुई सय ८० मिटर लामो मोटरेबल पुल बनेको छ । उक्त पुल बनेपछि सवारीसाधन सञ्चालन र स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । यही पुल तरेर हुलाकी राजमार्ग जान सकिन्छ । यहाँ पुल निर्माण भए पनि सडक स्तरवृद्धि भने हुन सकेको छैन ।

Logo