साउनबाट बेरोजगारलाई १०० दिन काम, निवेदन दिन आह्वान

साउनबाट बेरोजगारलाई १०० दिन काम, निवेदन दिन आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले आगामी साउनबाट बेरोजगारलाई कम्तिमा १०० दिन काम दिने भएको छ । त्यसको लागि निवेदन दिन आह्वान गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार नागरिकलाई न्यूनतम रोजगार दिनका लागि निवेदन माग गरेको हो ।

चैत्र महिनाभित्र निवेदन दिन भनिएको छ । बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा निवेदन दिन सक्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि न्यूनतम एक सय दिन रोजगार दिने उदेश्यले सरकारले निवेदन माग गरेको हो। बेरोजगार व्यक्तिले आफूसँग भएको सीप, योग्यता, वा क्षमता समेत उल्लेख गरेर रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ।

यसरी निवेदन दिँदा निवेदकले काम गर्न चाहेको समय, क्षेत्र र ठाउँसमेत खुलाउनु पर्नेछ। निवेदनमा हालको रोजगारीको अवस्था र अनुभव भएमा सो समेत बुझाउनुपर्ने प्रधानमन्त्री रोजगार कार्यक्रमले जारी गरेको सूचना उल्लेख गरिएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७५र७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनको लक्ष्य राखेको थियो। सोही लक्ष्य अनुसार फागुन १ गते कार्यक्रमको सुरुवात गरिएको थियो। कार्यक्रम सुरुवातपछि मन्त्रालयले बेरोजगारको लगत संकलनका लागि निवेदन माग गरेको हो।

सबै प्रदेश र ७५३ वटै स्थानीय तहका रोजगार सेवा केन्द्रमा निवेदन दिन सकिनेछ । त्यसको लागि १८ देखि ५९ वर्ष उमेर समूहको बेरोजगार हुनुपर्ने हुन्छ । दर्ता निवेदनहरू अद्यावधिक गरी केन्द्रले मन्त्रालय र सम्बन्धित प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयलाई ३० दिनभित्र पठाउनु पर्नेछ।

पहिलो पटक राज्यले नागरिकको रोजगारीको हकलाई सुरक्षित गर्दै वार्षिक न्यूनतम एक सय दिन रोजगारको प्रत्याभूति गर्ने जिम्मेवारी लिँदै कार्यक्रम सञ्चालन गरेको हो। न्यूनतम रोजगार प्रदान गर्न नसके सरकारले बेरोजगार परिवारलाई एक जना श्रमिकले सय दिनमा पाउने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता दिनेछ ।

Logo