परोपकारी संस्था हेड्स नेपाल परोपकारिताको क्षेत्रमा थप सक्रिय हुने

परोपकारी संस्था हेड्स नेपाल परोपकारिताको क्षेत्रमा थप सक्रिय हुने

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । परोपकारी संस्था हेड्स नेपाल परोपकारिताको क्षेत्रमा थप सक्रिय हुने भएको छ । संस्थाले योजनाअनुसार परोपकारिताको क्षेत्रमा स्थानीय निकायसँग सहकार्य गर्ने बताउँदै परोपकारिताको क्षेत्रमा थप सक्रिय हुने जानकारी दिएको हो ।

संस्थाले काठमाडौँको ढुंगेधारामा सामाजिक सेवा दिवसको अवसर पारेर ३१ औँ वार्षिक साधारणसभा, अन्तरक्रिया कार्यक्रम र स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा अभिभावकहरू, संस्थाका सदस्यहरू र समाजका अगुवाहरूको सहभागिता रहेको महासचिव दिव्यराज पौडेलले जानकारी दिए ।

साधारण सभाको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले स्वास्थ्य, शिक्षा, कृषि र विपद् जस्ता क्षेत्रमा संस्थाले पुर्‍याएको योगदानको सराहना गर्दै सरकारले गर्नुपर्ने काम कुनै एक संस्था एक्लैले गर्न नसक्ने बताए । उनले भने, ‘राज्य संयन्त्रले नै सामाजिक आवश्यकता परिपूर्ति गर्नुपर्दछ, संस्थाहरूले त सहयोग गर्ने मात्रै हो ।’ साथै डा भट्टराईले हेड्स विशेष स्मारिकाको लोकार्पण पनि गरे ।

कार्यक्रममा पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक दल र नेताहरूले सुशासनको प्रत्याभूति दिनुपर्ने बताए । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका यूवाहरूले जलवायु परिवर्तनसँगै बढ्ने तापमानको अवस्थामा अभिभावकहरूले गर्नुपर्ने सावधानीका लागि भूमिका प्रदर्शन गरेका थिए ।

मानव सेवा आश्रम, मानवता महाअभियानका रामजी अधिकारी, त्रिभुवन विश्वविद्यालय, आयूर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा रामआधार यादव, निवर्तमान अध्यक्ष इश्वरचन्द बानियाँ, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाल लगायतले स्वास्थ्य, शिक्षा तथा समाजसेवाका विविध आयाममा चर्चा गरेका थिए ।

समाजसेवामा संस्थामार्फत् योगदान दिने इन्द्रप्रसाद पोखरेल, कृष्णकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ र विष्णु गौतमलाई सम्मान गरिएको थियो । शिक्षा, स्वास्थ्य, कृषि र विपद्को क्षेत्रमा सक्रिय हेड्स नेपालले सामुहिक सङ्कल्प र स्रोत व्यवस्थापनले परोपकारिताको अभिलाषालाई परिपूर्ति सकिन्छ भन्ने विश्वास राखेको महासचिव पौडेलले जानकारी दिए । गतिशील संगठन, आर्थिक दिगोपन र सहकार्यमा आधारित परोपकारिताको सोँचबाट संस्थाले प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।

Logo