निर्मला प्रकरणमा पत्रकार खेम भण्डारीसहित ३ जनाविरुद्ध मुद्दा

निर्मला प्रकरणमा पत्रकार खेम भण्डारीसहित ३ जनाविरुद्ध मुद्दा

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा गाली बेज्जईती तथा अपमानको मुद्दा पनि दर्ता भएको छ । जिल्ला अदालत कञ्चनपुरमा पत्रकार खेम भण्डारीसहित ३ जनाविरुद्ध गाली बेज्जईतीविरुद्धको मुद्दा दर्ता भएको हो । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएका बम दिदिवहिनीले तीन जनाविरुद्ध मुद्दा दायर गरेका हुन् ।

निर्मलाकी साथी समेत रहेका रोशनी बमकी दिदि अनिता बमले पत्रकार भण्डारी, नेपाल मानव अधिकारी संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्याल, कैलालीका भक्ति फुलाराविरुद्ध गाली बेईज्जती तथा चरित्र हत्याविरुद्धको मुद्दा दर्ता गरेकी हुन् ।

नेपाल मानव अधिकारी संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा बम दिदिवहिनीलाई दोषी ठहर गरेको थियो । उक्त प्रतिवेदनमा अनिता डान्सबारमा काम गर्ने केटी भन्दै सम्बोधन गरिएको थियो । उक्त प्रतिवेदनले छोरीहरुको चरित्र हत्या भएको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको अनिताका बाबु दिपेन्द्र बहादुर बमले जानकारी दिए ।

‘अर्याल नेतृत्वको संगठनले छोरीहरुको बारेमा झुटा प्रतिवेदन तयार गरेको थियो । जसले गर्दा छोरीहरु अहिले पनि समाजमा अपमानित र नारकीय जीवन बिताउन बाध्य छन् । यसबारे सत्यतथ्य पत्ता लगाएर छोरीहरु दोषी भए कारवाही हुनुपर्‍यो । नत्र झुटा प्रतिवेदन तयार पार्नेलाई कारवाही गर्नुपर्‍यो’ उनले भने ।

अनिताले अहिलेसम्म अपमानित भएर बस्नु परेको भन्दै तीन जनाविरुद्ध मुद्दा दायर गरेको बताईन् । कुनै गल्ती तथा उक्त घटनामा संलग्नबिना आफुहरुको चरित्र हत्या गरिएको भन्दै अनिताले भनिन्, प्रतिवेदन सार्वजनिक भएपछि हामी वहिष्कृत, अपमानित र नारकीय सामाजिक जीवन विताउन बाध्य भएका छौं । हाम्रो पढाई छुटेको छ, सामाजिक वेइज्जति भएको छ । आफन्त र विद्यालयका साथीहरुले हामीलाई अपराधी र अनैतिक चरित्रका मानिसका रुपमा हेर्ने गर्न थालेको छन । झुटो प्रतिवदेनले गर्दा हाम्रो व्यक्तिगत जीवनमा पारेको क्षतिको क्षतिपूर्ति हुनुपर्छ । उनीहरुको प्रतिवेदनले गर्दा हामीमाथी परेको शारीरिक, मानसिक र सामाजिक क्षतिको क्षतिपूर्ति दिनुपर्छ ।’

त्यस्तै पत्रकार खेम भण्डारीले सञ्चारमाध्यम मार्फत झुटा, कपोकल्पित तथा भ्रामक समाचार सम्प्रेशण गरेर आफुहरुको चरित्र हत्या गरेको भन्दै उनी विरुद्ध मुद्दा दायर गरिएको अनिताको भनाई छ । जिल्ला अदालत कञ्चनपुरमा बिहीबार दर्ता भएको मुद्दाको सुनुवाई हुने क्रम रहेको अदालत स्रोतले जनाएको छ ।

मुद्दामा मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार चार लाख क्षतिपूर्ति र मुद्दाको खर्चबापतको खर्च ९० हजार रुपैयाँ समेत भराउन आदेशको माग गरिएको छ।

‘अब अदालतबाट तीन जनाको नाममा म्याद जान्छ । यो फौजदारी मुद्दा नभएकाले १५ दिने म्याद जारी भएपछि दुवै पक्षका अदालतमा उपस्थित हुन्छन् । उनीहरुले १५ दिनभित्र प्रमाणसहित आउनुपर्ने हुन्छ । उनीहरु दुवै पक्षका कुरा सुनेर अदालत बहस पैरवी गर्दै फैसला गर्नेहो’ अदालत स्रोतले भन्यो ।

यसअघि जिल्ला अदालतमा तल्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर गरिएको थियो । बलात्कारपछि हत्या गरिएकी निर्मला प्रकरणको अनुसन्धानको क्रममा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा एसपी विष्टसहित ८ जनाविरुद्ध सरकारी वकिल कार्यालय कञ्चनपुरले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा छुट्टाछुट्टै मुद्दा दायर गरिएको हो । यातना दिएको अभियोगमा एसपी विष्ट, तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको हो ।

त्यस्तै प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध पनि मुद्दा दायर गरिएको हो ।

Logo