हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्ग अवरुद्ध

हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्ग अवरुद्ध

केन्द्रबिन्दु
238
Shares

मकवानपुर । शुक्रबार बिहानदेखि निरन्तर परेको पानीले हेटौँडा–काठमाडौँ जोड्ने दुईवटा वैकल्पिक मार्गमा पहिरो खसेर अवरुद्ध भएपछि त्रिभुवन राजपथ भएर यात्रा गर्न दिइएको छ ।

पहिरोले हेटौँडा–कुलेखानी–काठमाडौँ सडक र कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यी दुवै सडकमा बिहान पहिरो खस्दा एकतर्फी सञ्चालन गरिएको थियो । मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार हेटौँडा–कुलेखानीको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा अपराह्न ४ बजे पहिरो खसेर सडक पूर्ण रूपमा अवरोध भएको छ ।

प्रवक्ता सापकोटाका अनुसार कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ आँपचौर र लाम्राङ भन्ने ठाउँमा दिउँसो २ बजे पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । शुक्रबार साँझदेखि हेटौँडा–काठमाडौँ यात्रा गर्ने सवारीसाधनलाई त्रिभुवन राजपथबाट मात्र आवतजावत गर्न दिइएको छ । सुरक्षाका कारण देखाएर भीमफेदी–कुलेखानी सडकमा यात्रा गर्न रोक लगाइएको प्रहरीले जनाएको छ ।

Logo