भैंसे–भीमफेदी सडकखण्ड तत्काल खुलाउन मन्त्री काफ्लेको निर्देशन

भैंसे–भीमफेदी सडकखण्ड तत्काल खुलाउन मन्त्री काफ्लेको निर्देशन

केन्द्रबिन्दु
252
Shares

काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले मकवानपुरको भैसे–भीमफेदी सडकखण्डमा पहिरोका कारण अवरुद्ध सडकको अनुगमन गरेका छन् ।

शनिबार मन्त्री काफ्ले मकवानपुरको विपद् व्यवस्थापन समितिको टोलीसहित हेटौंडाबाट काठमाडौं जाने अवरुद्ध भैसे–भीमफेदी सडकखण्डको पहिरोस्थल अनुगमन गरेका हुन् ।

बिहीबारदेखिको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएको छ ।

अनुगमनका क्रममा मन्त्री काफ्लेले पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारीसाधनहरु रोकिएकोले द्रुत गतिमा काम सम्पन्न गराई यात्रुलाई सहज बनाउन निर्देशन दिएका छन् ।

अनुगमनमा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल, मकवानपुर प्रहरी प्रमुख सिताराम रिजाललगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

Logo