आमा र छोरा एउटै कक्षामा

आमा र छोरा एउटै कक्षामा

केन्द्रबिन्दु
0
Shares

मार्तडीको हिमाली गाउँपालिका–२ कोटकी निमकला रोकायाको उमेर ३९ वर्ष भयो । बर्ष बढेपनि निमकलाको पढ्ने रहर भने मरेको छैन ।

निमकलाको दैनिकी बिहानै घरको कामबाट शुरु हुन्छ । गाईवस्तुलाई घाँस काट्ने र घरको सम्पूर्ण काम सक्छन । अनि खाना खाएर विद्यालय जान्छन । अर्काको घर जाने भएकाले छोरीले नपढे पनि हुन्छ भन्ने मान्यतालाई निमकलाले तोडेकी छन् ।

विद्यालयको बेग्लै पोशाक भएपनि उनी भने धोती र चोली लगाएर जान्छिन । निमकला गाउँको ठुलाकोट आधारभूत माध्यमिक विद्यालयमा छोरा सन्तोषसँगै कक्षा आठमा पढ्छिन । पढ्दापढ्दै उमेर नपुग्दै बाबुआमाले विवाह गरिदिएको निमकलाको भनाइ थियो । माइतीघरमा पढ्न नपाएकाले छोरा पाएपछि पढ्ने सोच आएर विद्यालय भर्ना भएको उनी बताउछिन्  । पढ्ने रहर छ भनेपछि जेठो छोरासँग विद्यालय भर्ना गरिदिएको श्रीमान् सिउमलले बताए ।

हिमाली गाउँपालिकाको कोटगाउँका ७० परिवारमध्ये अहिलेसम्म एकजना महिला पनि आठ कक्षा पास भएका छैनन् । निमकलाले भनिन्, “गाउँमै पहिलो एसएलसी पास गर्ने इच्छाले म विद्यालय भर्ना भएकी हुँ ।” माइतीगाउँको बिच्छँयामा माध्यमिक विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरेको उनले बताइन्  । विवाह गरेर आएपछि उनको पढाइ बीचैमा छुट्यो ।

उनी भन्छिन, “पहिला यहाँ प्राथमिक तहसम्म मात्र विद्यालय रहेको थियो । अहिले गाउँमै कक्षा ८ सम्म पढाइ हुने भएपछि पढ्ने रहर जाग्यो ।” निमकला कोटगाउँकी महिला स्वयंसेविकासमेत रहेकी छन् । उनका तीन सन्तान छन् । जेठो छोरा ८, छोरी सुनकली ६ र कान्छो छोरा धनराज कक्षा ४ मा उक्त विद्यालयमा अध्यनरत छन् ।

निमकलाका श्रीमान् सिउमलले भने, “उनको पढ्ने रहर थियो, गाउँमै निमावि तहको विद्यालय पनि भएन्, बच्चा भएकाले पढ्न पाएकी थिइनन्”, आफूले पनि पढ्नका लागि सहयोग गरेपछि छोराछोरीसँगै विद्यालय जाने गरेको उहाँले सुनाइन । विद्यालयका प्रधानाध्यापक माधवप्रसाद अवस्थीले निमकलाको पढ्ने इच्छा भएकाले विद्यालयमा भर्ना गरिएको बताइन  । हिमाली गाँउपालिका–२ कोटगाउँ सदरमुकाम मार्तडीबाट चार दिनको दूरीमा रहेको छ । कोटगाउँका तीन पुरुषले मात्र एसएलसी पास गरेका छन् ।

उक्त गाउँमा स्थानीय युवा प्रायः सबै बेरोजगार छन् । गाउँमा कुनै समस्या आउँदा पैसा कमाउन भारतमा जाने गर्छन् । गाँउमा कक्षा ८ सम्म पढाइ हुने भए पनि माध्यमिक विद्यालय जान एक दिनको दूरीमा रहेको बिच्छँया मावि जानुपर्ने बाध्यता छ । उक्त गाउँका विद्यार्थी उच्च शिक्षा पढ्न दुई दिन लाग्ने गरेको कोल्टीमा जान्छन् ।

Logo