ललितपुरका अवरुद्ध सडकहरु खुलेका छन्, व्यवस्थापनमा कमजोरी छैनः प्रवक्ता महर्जन

ललितपुरका अवरुद्ध सडकहरु खुलेका छन्, व्यवस्थापनमा कमजोरी छैनः प्रवक्ता महर्जन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले विपद्बाट क्षति भएका सडकहरु खुलाउने काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

विपद् व्यवस्थापन समितिको बैठक बसेर तत्कालै प्रत्येक वडाका वडाध्यक्षहरुको अगुवाइमा बाटो खोल्नेदेखि पीडितहरुको व्यवस्थापनमा सक्रियता देखाएको उनले बताए । ‘असोज ११ र १२ गते भएको विपद्ले ललितपुर महानगरपालिकामा धेरैवटा वडामा प्रभाव परेको छ । जसमध्ये २३, २८, ७, ८, ९, १०, ११, १३, १४, १८, २५, ४, १, २ र ३ वडा बढि प्रभावित भएका छन् र यस्तै धेरैवटा वडाहरु विपद्को प्रभावमा परेको छ । यसमा धेरै धनजनको क्षती भएको छ । हालसम्म महानगरभित्र पाँच जनाको मृत्यु भएको छ,’ उनले भने ।

तर बाढी प्रभावितहरुलाई महानगरपालिकाले तत्कालै उद्धार, राहत र आवश्यक व्यवस्थापनमा सक्रियता देखाएको जानकारी दिए । व्यवस्थापनको लागि सबैभन्दा पहिले सडक खुलाउने काम गरेको बताए ।

‘महानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक बसेर भोलिपल्टै कार्यपालिकाबाट प्रत्येक वडाका वडाध्यक्षहरुले बाटो खोल्नेदेखि पीडितहरुलाई व्यवस्थापन गर्ने, खाना, पानीको व्यवस्था गर्ने र अन्य आवश्यक वस्तुको व्यवस्था गर्नेगरी वडाहरुलाई अधिकार प्रत्यायोजन गरिएको छ,’ उनले भने,‘ विपद् व्यवस्थापन समिति वडा वडामा रहेकाले पैसा खर्च गर्ने अधिकार दिएकाले धेरै वडामा बाटो खोल्ने काम सकिएको छ ।’

महानगरपालिकामा सबैभन्दा ठूलो समस्या मध्ये एउटा खानेपानी पनि रहेकाले पानी आउने स्रोत बन्द भएको अवस्था रहेको उनले जानकारी दिए । पाइपहरु खोलाले बगाएकाले तीन महिनासम्म खानेपानी सुचारु गर्न समय जानकारी प्राप्त भएको उनले जानकारी दिए ।

‘खानेपानीको समस्या समाधान गर्नका लागि अहिलेको लागि ट्याङ्करबाट वितरण गर्नको लागि महानगरपालिकासँग भएको दुई वटा ट्याङ्कर प्रयोगमा छन् । थप आठवटा ट्याङ्कर भाडामा लिएर काम गरिरहेका छौं,’ प्रवक्ता महर्जनले भने ।

प्रवक्ता महर्जनले महानगरभित्रको सम्पूर्ण क्षतिको विवरण निकाल्नको लागि समय लाग्ने उनले बताए । तत्काल गर्न सक्ने जुन सहयोगका कामहरु छन् त्यसमा ध्यान दिंदै पूर्वतयारी गरिरहेको पनि उनले जानकारी दिए । ‘रोगहरु फैलिने खतरा रहेकाले सम्बन्धित वडाहरुमा डाक्टरसहितको टीम खटाएका छौ । औषधी छर्ने काम पनि भइरहेको छ । घर घरमा पानी सफा गर्नको लागि पिउस पनि वितरण गर्ने काम भइरहेको छ,’ उनले जानकारी दिंदै भने ।

राहत वितरणको काम जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको निर्णय अनुसार एकद्वार नीति अपनाएर काम भइरहेको उनले बताए । ‘जुन वडामा धेरै क्षति भएको छ । त्यहाँ खाना खुवाउने कामहरु भइरहेको छ । आवश्यक सामान पनि वितरण भएको छ तर संस्थाहरुबाट आउने राहत वितरण गर्नको लागि एकद्वार नीति अपनाएको हो,’ उनले भने ।

Logo