भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बीपी राजमार्गमा रोकिएका सवारी वैकल्पिक बाटोबाट जाँदै

भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बीपी राजमार्गमा रोकिएका सवारी वैकल्पिक बाटोबाट जाँदै

केन्द्रबिन्दु
504
Shares

काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ ।

बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् ।

यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालन हुन दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताए । तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उनले बताए ।

उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ । बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्‍याउने प्रयास भइरहेको मङ्गलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए ।

बीपी राजमार्गमा फसेका सवारीसाधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाडौँ पुगेका छन् । राजमार्गको रोशी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नं ९ मङ्गलटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने छ ।

Logo