नागढुङ्गा–नौबिसे सडकको विकल्पमा सीतापाइला–धार्के सडकको प्रयोग

नागढुङ्गा–नौबिसे सडकको विकल्पमा सीतापाइला–धार्के सडकको प्रयोग

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । नागढुङ्गा–नौबिसे सडकखण्डमा पहिरो हटेपछि गाडीहरू काठमाडौँ बाहिर जान थालेका छन् ।

तर काठमाडौँबाट बाहिरिने मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा गाडीहरूको लामो जाम लाग्ने गरेको छ । जसका कारण यात्रुहरूले सास्ती खेप्दै आएका छन् ।

अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनहरूले यो सडकको विकल्प खोज्न थालेका छन् । जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ ।

अहिले अधिकांश साना सवारी साधन (हाइस, जिप, कार) सीतापाइला–धार्के सडक भएर जाने गरेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–नौबिसे सडकको जाम छल्नका लागि भए पनि यातायात व्यवसायीहरूले उक्त सडकलाई प्रयोगमा ल्याउन थालिएको छ ।

यातायात व्यवसायीहरू पनि सङ्घीय राजधानी काठमाडौँ भित्रिँदा र बाहिँरिदा नागढुङ्गाको जाम छल्न सीतापाइला–धार्के सडक एउटा सशक्त विकल्प तयार हुने बताउँछन् । कूल २४ किलोमिटरको यस सडकमा अहिले दैनिक कम्तीमा पनि दुईदेखि तीन सयसम्म सवारी साधन भित्रिने तथा बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

नागढुङ्गा–नौबिसे सडकको जाम छल्न यो सडक उपयुक्त भएकाले उक्त सडकको स्तरोन्नति गरिनुपर्ने भन्दै नागरिक स्तरबाट नै माग बढेपछि सरकारले काठमाडौँतर्फको पाँच किलोमिटर खण्डमा सडक विस्तारको काम सुरु गरिसकको छ ।

Logo