पेसागत हतियार प्रदर्शन गर्दै मनाइयो पाँय् न्ह्याकेगु जात्रा

पेसागत हतियार प्रदर्शन गर्दै मनाइयो पाँय् न्ह्याकेगु जात्रा

केन्द्रबिन्दु
28
Shares

भक्तपुर । विजयादशमीका अवसरमा भक्तपुरमा परम्परागत हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सम्पन्न भएको छ । मल्लकालभन्दा अगाडि सुरु भएको मानिएको यो जात्रामा आफ्ना विभिन्न पेसा व्यवसायमा प्रयोग हुँदै आएका घरेलु एवं परम्परागत हतियारको पूजा गरी प्रदर्शन गर्ने प्रचलन रहेको छ ।

पुर्खौंदेखि स्थायी रूपमा बसोबास गर्दै आएका स्थानीय मानन्धरहरूले बर्सेनि मोहनि नखः (बडादसैँ) को विजयदशमीको दिन साँझदेखि सुरु गरी रातिसम्म पाँय् न्ह्याकेगु जात्रा गर्दै आएका मानन्धर समाजका कृष्णकुमार मानन्धरले जानकारी दिए ।

पाँय्लाई ठाउँअनुसार ‘पा’ वा ‘खाँ’ पनि भन्ने गरिएको छ । यस्तै पाँय् न्ह्याकेगुको अर्थ हतियार सञ्चालन गर्ने भन्ने गरिन्छ । ‘पा’ भनेको बन्चरो, खड्ग वा अन्य हतियार हुने भएकाले धेरै ठाउँमा मोहनि नखःको अष्टमी, नवमी, दशमी र एकादशी तिथिमा पायो वा पायाः वा खाँ पिहाँवइगु जात्रा मनाउने गरेको उनले बताए ।

“विजयादशमीको राति मनाइने यस जात्राका क्रममा परम्परागत पेसामा प्रयोग हुने विभिन्न हतियार बोकेर बाजाको तालमा साः (तोरी पेल्ने परम्परागत कारखाना) मा प्रतिष्ठापन गरिएका भैरवलाई तीनपल्ट र सोही साः बाहिर रहेको इनारमा तीनपल्ट परिक्रमा गर्ने गरिन्छ”, मानन्धरले भने ।

Logo