प्रधानमन्त्रीलाई सुदूरपश्चिममा भव्य स्वागत, प्रदेशसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्रीलाई सुदूरपश्चिममा भव्य स्वागत, प्रदेशसभालाई सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशको स्थापना दिवसमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । प्रधानमन्त्री ओलीलाई गेटा विमानस्थलमा भव्य स्वागत गरिएको छ । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टर मार्फत धनगढी पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपा प्रदेश ईञ्चार्ज भीम रावल, नेकपा नेता राजेन्द्र रावल, नेकपा नेता तथा कार्यकर्ता, प्रदेश सभा सदस्यहरु, प्रदेशसभा सचिवालय सदस्य लगायत विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओलीले भोलि (बुधबार) प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेछन् । बुधबार बिहान ९ बजे प्रदेश सभा बैठक बस्ने र बैठक लगत्तै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठक सकिएपछि प्रधानमन्त्री ओलीले प्रदेशका ५३ जना सांसद्हरुसँग सामुहिक फोटो खिच्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको विदाईपछि फेरि प्रदेश सभाको दोस्रो बैठक बस्नेछ । प्रदेश सभालाई सम्बोधन गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद प्रस्ताव पास गर्न सभाको दोस्रो बैठक बस्ने भएको हो ।

तस्बिरः नवराज भण्डारीको फेसबुकबाट

Logo