८ बर्षिय बालकको अनुत्तरित प्रश्न-‘बाबालाई किन आगो लगाउने ?’

८ बर्षिय बालकको अनुत्तरित प्रश्न-‘बाबालाई किन आगो लगाउने ?’

केन्द्रबिन्दु
0
Shares

डोटी । ८ वर्षको अवोध बालक । जसले आफ्नै बाबुलाई दागबत्ती दिए । उनलाई के भईरहेको छ भन्ने केही थाहा थिएन् । अरुले भनेको भरमा उनी बाबु राखिएको चितामा आगो लगाउन अघि बढे । बुवालाई चितामा सजाएर ‘आगो लगाउ’ भन्दै उनको हातमा दागबत्ती दिइयो ।

त्यतिबेला सबैलाई भावुक बनाउँदै उनले मार्मिक प्रश्न गरे, ‘मेरो बाबालाई किन आगो लगाउने ? आगोले बाबाको शरीर पोल्छ’ यति भनिरहँदा त्यहाँ उपस्थित सबै मलामी केही बोल्न सकेनन् । उनी आफ्नो बाबालाई पोल्छ भन्दै आगो लगाउन मानिरहेका थिएनन् । परिवारका अन्य सदस्यहरुले सम्झाईबुझाई गर्दा उनी आगो लगाउन तयार भए तर बाबा, बाबा भन्दै चिच्याउन थाले ।

डोटीको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको पार्थिब शरिरमा दागबत्ती दिँदा ८ वर्षका छोरा अनिष जोराले यस्तो भनेका थिए । क्यान्सर पीडित बाबुको निधनबारे उनले केही चाल पाएका थिएनन् ।

उनका बुबा ८ महिना अघिदेखि क्यान्सरबाट पीडित थिए । १४ वर्षको उमेरदेखि रोजगारीको सिलसिलामा भारत आउजाउ गर्ने तेजको क्यान्सरका कारण निधन भएको थियो । उनको ८ महिना अघि बाँया पाखुरा दुख्न थाल्यो ।

उनले भारतमै जाँच गराउँदा पाखुराभित्र गानो भएकोले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका थिए । तेजले त्यसैअनुसार गरे पनि । तर त्यो निको हुनुको सट्टा झन बल्झियो र क्यान्सर देखियो । उपचारका लागि तेजले भारतको चेन्नई, बेँग्लोर र नेपालको चितवनसम्म धाए तर कुनै सुधार भएन । अन्ततः उनको मृत्यु भयो ।

अनिष केआई सिंह गाउँपालिका–७, को नवद्वीप विद्यालय निकेतनमा कक्षा २ मा अध्ययन गर्दै आएका थिए । बाबुको निधनपछि उनलाई घर लगिएको थियो ।

क्यान्सरले तेजलाई लगेपछि ८ वर्षका छोरा अनिषसँगै ४ वर्षकी छोरी रेश्माले पनि बुवाको सहारा गुमाएकी छिन् । उनका एक छोरा एक छोरी, श्रीमती र आमा छन् । उनीहरुको रेखदेख तथा छोरा छोरीको पढाइ कसरी गर्ने भन्ने समस्या देखिएको छ ।

Logo