बन्ध्याकरण गर्ने ८८७ मा छ जना मात्र पुरुष !

बन्ध्याकरण गर्ने ८८७ मा छ जना मात्र पुरुष !

केन्द्रबिन्दु
0
Shares

विराटनगर

सात महिनाको शिशु बोकेर सरोजादेवी सरदार स्थानीय स्वास्थ्य चौकीमा बुधबार बिहानै लाइन बस्न पुग्नुभयो । तीन सन्तानकी आमा उहाँलाई थप सन्तानको अब रहर छैन । त्यसैले स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा उहाँ परिवार नियोजन गर्न चाहनु हुन्थ्यो । त्यसैले उहाँ स्वास्थ्य चौकी पुग्नु भएको हो ।

मोरङको कटहरी गाउँपालिका भौडाहामा शहीद दिवसको दिन परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर आयोजना गरिएको थियो । त्यहाँ सरोजादेवीजस्तै करिब ६० जना महिलाको उपस्थिति थियो । शिविरमा बन्ध्याकरण गराउन आउनेको भीड थामिसक्नु थिएन तर पुरुष भने थिएनन् ।

रमिता हेर्ने बाहेक सेवा लिन आउने पुरुष एक जना पनि थिएनन् र कसैले नाम दर्ता पनि गराएनन् । मिनिल्याप सेवा लिन आउनुभएकी सरोजादेवीले पनि आफ्नो पतिलाई भ्यासेक्टोमी नगर्न सल्लाह दिएको बताउनुहुन्छ ।

‘‘हामी दिनभरि घरमा बस्छौं, पुरुष कमाउन जान्छन् र बलको काम पनि गर्नुपर्छ’’ सरदारले भन्नुभयो ‘‘त्यसैले मैले नै शल्यक्रिया गर्ने निधो गरेकी हुँ ।’’ परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिन आउनुभएकी उहाँ मात्र होइन, भौडाहा–३ की उर्मिला सरदारको भनाइ पनि उस्तै छ ।

स्थायी बन्ध्याकरण महिलाले भन्दा पुरुषले गर्नु सहज मानिन्छ । मोरङमा मङ्सिर २४ गतेदेखि सञ्चालन भएको बन्ध्याकरण शिविरमा पुरुषको संख्या भने अत्यन्त न्यून छ ।

कुल १८ स्थानमा सञ्चालित शिविरमा ८८७ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका छन् । सेवा लिनेमा ८८१ जना महिला छन् । पुरुषको संख्या जम्मा छ जना मात्र छ । जिल्ला स्वास्थ्य अधिकृत धरणी निरौलाले भन्नुभयो, ‘‘न्यून चेतनाकै कारण पुरुष बन्ध्याकरण गर्न नआएको हुनसक्छ, बन्ध्याकरण गरेपछि भविष्यमा कुनै भारी काम गर्न हुँदैन भन्ने गलत बुझाइ छ ।’’
गोरखापत्रबाट

Logo