श्रीमान विदेश गएको बेला ५२ वर्षीया श्रीमतीको हत्या, ३ जना पक्राउ

श्रीमान विदेश गएको बेला ५२ वर्षीया श्रीमतीको हत्या, ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

चितवन । एक महिलाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा ५२ वर्षीया धनकुमारी थापा (रुपा) को हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । घरमै सुतिरहेको अवस्थामा थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । प्रहरीले पक्राउ परेकाको नाम गोप्य राखेको छ ।

घरमा कोही नभएको मौका छोपी सोमबार राति करिब १ बजेको समयमा आक्रमण गरी थापाको हत्या गरिएको थियो । जेठा छोरा गणेश थापा भान्जा भान्जी पुर्‍याउन काठमाडौँ गएको र श्रीमान घर नभएको मौका छोपी थापाको हत्या भएको थियो । खुकुरी प्रहार गरी उनको हत्या गरिएको थियो ।

उनको टाउको, निधार र दाहिने पाखुरामा चोट लागेको थियो । थापाले लगाएको गरगहना शरीरमै रहेका थिए । लुटपाटभन्दा पनि कुनै रिसइबीले घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

धनकुमारीका श्रीमान पूर्णबहादुर थापा पाँच दिनअघि पशुपालनसम्बन्धी कार्यशालामा सहभागी हुन इन्डोनेसिया गएका थिए । धनकुमारीका कान्छा छोरा दिनेश थापा अमेरिकामा बस्छन् ।

श्रीमान पूर्णबहादुर थापा जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा राप्ती उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।

थापा दम्पतीले घरमै कुखुरा र गाईपालन गर्दै आएका छन् । थापाले दुईवटा खोरमा २५ सय कुखुरा र ५ वटा गाई पालेका छन् । करिब ९ महिनाअघि धनकुमारीका श्रीमान पूर्णबहादुरलाई फोन गरेर अज्ञात व्यक्तिले चन्दा मागेको र उनले चन्दा दिन इन्कार गरेका कारण ज्यान मार्ने धम्की दिएका थिए ।

Skip This
Skip This
Logo