कञ्चनपुरमा काँडेतार लगाउन भारतीयले दशगजामा डोजर नै चलाए

कञ्चनपुरमा काँडेतार लगाउन भारतीयले दशगजामा डोजर नै चलाए

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चिवतमा सिमा क्षेत्रमा काँडेतार लगाउँदा कञ्चनपुरमा भने भारतीय डोजर नै लगाएका छन् । विप्लवको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले चितवनमा मिचिएको सिमा क्षेत्रमा लगाएको काँडेतार प्रहरीले रातारात भत्काएको थियो । तर कञ्चनपुरमा भने काँडेतार लगाउन भारतीयले डोजर नै चलाएर गहिरो खाल्डो बनाईरहेको छ ।

भारतीय वन विभागले पुनर्वास नगरपालिका ११ डोकेबजार नजिकै दशगजाबाट केही पर आफ्नो जङ्गल क्षेत्रमा खाल्डो खनेर तारबार लगाउने काम सुरु गरेको हो । नेपाल भारत सीमा क्षेत्रको गौरीफन्टा नाका र पुनर्वासको डोकेबजारस्थित सीमा स्तम्भ नम्बर १७१ देखि करिब २ किलोमिटरको क्षेत्रमा तारबार लगाउन थालेको हो।

चारवर्षअघि भारतको वन विभागले दुधुवा नेशनल पार्क संरक्षण गर्ने भन्दै कञ्चनपुरको पुनर्वासस्थित दशगजा नजिकै आफ्नै भूमिमा ट्रेन्ज खनेर तारबार लगाउने काम गरेको थियो। उक्त कामको नेपाली पक्षबाट विरोध भएपछि काम रोकिएको थियो ।

अहिले फेरि सोही काम भारतीय पक्षले सुरु गरेका हुन् । केही दिनदेखि भारतीय वन विभागले दशगजा नजिकै क्षेत्रमा डोजर चलाएर ट्रेन्ज खन्ने काम सुरु गरेको स्थानीयको आरोप छ ।

नेपाली पक्षसँग कुनै समन्वय नै नगरी भारतीय पक्षले नेपाली वस्तिलाई असर पर्ने हिसाबले ट्रेन्ज खन्ने काम गरेको पुनर्वास नगरपालिका ११ का वडा अध्यक्ष तुलसी अर्यालले जानकारी दिए । भारतीय वन विभागले गर्न थालेको कामले नेपाली भूमि वर्षातमा डुबानमा पर्ने खतरा बढेको छ ।

ट्रेन्ज खनेर तारबार लगाउने वहानामा अग्लो डिल निर्माण गर्ने र त्यसले वर्षातका समयमा भारततर्फ निकास हुने पानी रोकिन गई नेपाली वस्ति डुब्ने खतरा रहेको स्थानीयको भनाई छ ।

२०७३ फागुनमा भारतीयले बनाएको नाला नेपाली पक्षले भत्काउँदा भारतीयसँग झडप भएको थियो । झडपका क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले गोली चलाउँदा ३२ वर्षीया गोविन्द गौतकको ज्यान गएको थियो ।

Logo