७५ हजार कर्मचारीले भरे समायोजन फारम, २१ दिनभित्र हाजिर नहुनेलाई बर्खास्त

७५ हजार कर्मचारीले भरे समायोजन फारम, २१ दिनभित्र हाजिर नहुनेलाई बर्खास्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ७७ हजार ३४ कर्मचारीले समायोजन फारम भरेका छन् । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि उनीहरुले आवेदन दिएका हुन् । कर्मचारीले बुधवार राति १२ बजेसम्म अनलाइनबाट आवेदन दिएका हुन ।

७७ हजार ३४ कर्मचारीले समायोजनको आवेदन भरेर आफूले समायोजन हुन चाहेको तह रोजिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जसमध्ये ७५ हजार ३ सय ६७ निजामती कर्मचारी छन् ।

समायोजनका लागि आवेदन दिएकामध्ये ४६ हजार २ सय ७० जनाले संघ (केन्द्र) रोजेका छन् । सरकारले केन्द्रका लागि ५७ हजार ९ सय २० कर्मचारीको दरबन्दी निर्धारण गरेको थियो ।

यस्तै प्रदेश रोज्ने कर्मचारीको संख्या ५८ हजार ६ सय २३ छ । सरकारले प्रदेशका लागि २२ हजार ७ सय ५५ कर्मचारीको दरबन्दी तोकेको छ । समायोजनका परेका आवेदनमध्ये ३ लाख ४५ हजार २ सय २५ आवेदन स्थानीय तहका लागि परेका छन् ।

स्थानीय तह रोज्ने एउटा कर्मचारीले प्राथमिकताका आधारमा १ भन्दा बढी १५ वटासम्म स्थानीय तह रोज्न पाउने व्यवस्था भएकाले स्थानीय तहमा परेको आवेदनको संख्या समायोजनका लागि आवेदन दिएका कर्मचारीको संख्या भन्दा बढी देखिएको हो । सरकारले स्थानीय तहका लागि ६७ हजार ५ सय ३ कर्मचारीको दरबन्दी निर्धारण गरेको छ ।

सरकारले १ लाख ३८ हजार १ सय ७८ कर्मचारी समायोजन प्रक्रियामा सहभागी हुने जनाएको छ । ७१ हजार ५ सय ९८ कर्मचारीले अनलाइनबाट आवेदन भरेर समायोजन प्रक्रिया रोजे भने ६६ हजार ५ सय ८० कर्मचारीले समायोजनका लागि फारम भरेनन् । तर, समायोजन नरोज्ने कर्मचारीलाई पनि कर्मचारी समायोजन अध्यादेशअनुसार बाध्यकारी बनाइएको छ ।

समायोजन नरोज्ने कर्मचारीलाई समायोजन रोजेर आवेदन दिएका कर्मचारीले छाडेको ठाउँमा खटाइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको कर्मचारी समायोजन तथा संगठन विकास शाखाका प्रमुख सहसचिव केदार प्रसाद पनेरुका अनुसार समायोजनका लागि आवेदन दिएका कर्मचारीलाई सफ्टवेयरले नै सबै आधारहरू केलाएर समायोजन हुने तह निर्धारण गर्नेछ ।

समायोजन नरोज्ने कर्मचारीलाई पनि सफ्टवेयरले नै समायोजन गर्नेछ । तर उनीहरूले आवेदन दिएका कर्मचारीले छाडेको ठाउँमा जानुपर्ने बाध्यता हुनेछ ।

कर्मचारी समायोजनका लागि अनलाइनबाट आवेदन भर्ने समय सकिएपछि बिहीवारदेखि कर्मचारीको विवरण रुजु गर्ने काम शुरू भएको छ । समायोजन रोजेका कर्मचारीले अनलाइनबाट आवेदन भर्दा पेश गरेको विवरण र निजामती किताबखानामा भएको विवरण भिडाएर कर्मचारीको विवरण रुजु गरिने छ ।

अनलाइनमा भरेको विवरण र निजामती कितावखानामा रहेको विवरण मेल नखाएमा किताबखानामा भएको विवरणलाई आधार मानेर विवरण रुजु गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीको भनाइ छ ।

अनलाइनबाट आवेदन दिएका कर्मचारीको विवरण रुजु भएपछि आवेदन नभरेका कर्मचारीको विवरण रुजु गर्न शुरू गरिने छ । यो सबै काम सक्न कम्तिमा २ हप्ताको समय लाग्नेछ ।

यी सबै काम सकिएपछि समायोजन प्रक्रियामा सहभागी हुने कर्मचारीलाई पत्र दिन शुरू गरिनेछ । पत्र पाएको तिन हप्ता अर्थात २१ दिनभित्र कार्यक्षेत्रमा हाजिर नभए उनीहरुलाई सेवाबाट बर्खास्त गरिनेछ ।

कर्मचारी समायोजन अध्यादेशको दफा (१६) अनुसार समायोजनको पत्र बुझेको २१ दिनभित्र (बाटो म्याद बाहेक) मा हाजिर नहुने कर्मचारीलाई पदबाट अवकाश दिइने छ ।

Logo