राउटे बस्तीमा सामाजिक सुरक्षा भत्ता वितरण र सहभोज

राउटे बस्तीमा सामाजिक सुरक्षा भत्ता वितरण र सहभोज

केन्द्रबिन्दु
0
Shares

दुल्लु

राउटे समुदायको सामाजिकीकरण अभियान अन्तर्गत राउटे बस्तीमा सहभोज गरिएको छ ।

सुर्खेतको लेकबेसी नगरपालिका– १ लेकफर्सा रातेखोलास्थित राउटे बस्तीमा सहभोज गरिएको हो । प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न जङ्गलमा बस्दै आएको राउटे समुदायको सामाजिकीकरण अभियानका क्रममा सहभोज गरिएको हो ।

सो सहभोजको आयोजना कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको हो । सहभोजमा राउटेसँगै अन्य समुदायका बासिन्दा सहभागी थिए । राउटको सीप र संस्कृति संरक्षणसहितको सामाजिकीकरण गर्न प्रदेश सरकारले अभियान थालेको मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिनुभयो । “राउटे बस्तीमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छौँ,” उहाँले भन्नुभयो ।

चिसो बढेपछि राउटे बालबालिका र वृद्धवृद्धामा विभिन्न समस्या देखिएको स्वास्थ्य परीक्षणमा संलग्न कर्णाली प्रदेश अस्पतालका मेडिकल अधिकृत डा लोकेन्द्र थापाले बताउनुभयो । बस्तीमा हरेक साता विशेषज्ञ चिकित्सकले राउटेको स्वास्थ्य परीक्षण गर्ने उहाँले जानकारी दिनुभयो । मन्त्रालयले राउटे बस्तीमा तीन सोलारसमेत जडान गरेको छ । उनीहरुलाई न्यानो लुगा पनि वितरण गरिएको छ ।

यसैबीच दैलेखको गुराँस गाउँपालिकाले राउटे बस्तीमा पुगेर पुस महिनाको भत्ता वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीका अनुसार समुदायका एक सय ४५ जनालाई दुई हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । राउटेलाई सामाजिक मूल प्रवाहीकरणमा ल्याउन अभियान थालिएको मन्त्रालयका सचिव डा मानबहादुर विकले बताउनुभयो । उक्त अभियान बेसी नगरपालिका, गुराँस गाउँपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख र लोपोन्मुख राउटे सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालको समन्वय र सहकार्यमा गरिएको हो ।
रासस

Logo