गुणस्तरहिन बनेको भन्दैं गाउँपालिका प्रमुखले आफ्नै कार्यालय भत्काए

गुणस्तरहिन बनेको भन्दैं गाउँपालिका प्रमुखले आफ्नै कार्यालय भत्काए

केन्द्रबिन्दु
0
Shares

खोटाङ । गुणस्तरहीन बनेको भन्दै रावाबेंशी गाउँपालिका प्रमुखले आफ्नै निर्माणाधीन कार्यालय भत्काएका छन् । तीन महिनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले कोदालोले खनेर भत्काएका हुन् ।

भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफूखुशी गुणस्तरहीन भवन बनाएकाले कोदालोले खनेर भत्काइएको प्रमुख निरौलाको भनाई छ । ‘हामीले भवन निर्माणमा गुणस्तर निर्धारण गर्न र समयमा सम्पन्न गर्न ठेकेदारलाई पटकपटक आग्रह गर्‍यौं’ उनले भने, ‘हामीले गरेको आग्रहलाई ठेकेदारले अटेर गर्दै गुणस्तरहीन बनाएपछि सोही खर्चमा पुनः निर्माण गर्न लगाउन भत्काइएको हो ।’

प्रमुख निरौलाले भवनको भित्री भागको भुइँमा गरिएको ढलान, भवनको गाह्रो, बाहिरपट्टी गरिएको प्लास्टरलगायत भत्काइ दिएको स्थानीयले बताएका छन् । भवन निर्माणमा ठेकेदारले चरम लापरवाही गरेको सर्वत्र गुनासो आएपछि प्रमुख निरौलाले भत्काएर पुनःनिर्माण गर्न आग्रह गरेका छन् ।

भवनको भुइँतलामा ढुङ्गा बिछ्याएर ढलान गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि ठेकेदारले माटोमाथि ढलान गरेको पाइएको प्रमुख निरौलाले बताए । भुइँमा बिछ्याइएको ढुङ्गामाथि चार इञ्च ढलान गर्नुपर्नेमा माटोमाथि दुई इञ्चमात्र गरिएको र ढलानको सामग्रीसमेत गुणस्तरहीन भएको पाइएको प्राविधिकले जनाएको छ ।

गाउँपालिका प्रमुखले निर्माणाधीन भवन भत्काएपछि ठेकेदार कम्पनीले पुनःनिर्माणको काम थालेको स्थानीयवासीले बताएका छन् । ठेकेदारले पुनःनिर्माणको काम शुरु गरे पनि उक्त भवन गुणस्तरहीन नै हुने स्रोतको दाबी छ । रासस

Logo