घर पालुवा पशु चौपाया छाड्नेमाथि कानूनी कारवाही

घर पालुवा पशु चौपाया छाड्नेमाथि कानूनी कारवाही

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले पहिचान चिन्ह (ट्याग) लगाएका घर पालुवा पशु चौपाया छाड्ने वासिन्दामाथि कानूनी कारवाही गर्ने तयारी गरिएको छ । ट्याग लगाएका पशु चौपाया छाड्न थालिएपछि नगरपालिका कानुनी कारवाही तयारीमा लागेको हो ।

छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका–२०७५ अनुसार घर पालुवा पशु चौपाया छाड्नेमाथि कारवाही गर्न लागिएको हो । निर्देशिकामा चौपाया छाड्नेलाई प्रति चौपाया दुई हजार जरिवना, त्यसपछि पटक पटक छाडनेलाई जरिवनासहित नगरपालिकाबाट प्रदान हुने सुविधा कटौती हुने र क्षतिपूर्ति सम्बन्धित व्यक्तिबाट अशुल गरिने कानुनी व्यवस्था छ ।

भीमदत्त नगरपालिका नगर उप्र प्रमुख सुशिला चन्द नेतृत्वको छाडा चोपाया नियन्त्रण अनुगमन तथा समन्वय समितिले सबै वडामा छाडिएका गाई गोरुको पहिचान गरी कारवाही गर्ने तयारी गरेको हो । यसका लागि बुधबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको उपस्थितिमा सबै वडाका अध्यक्षहरुसित बैठक बसेको छ । बैठकबाट छाडा चौपाया नियन्त्रणका लागि कानुनी कारवाही गर्ने निर्णय गरिएको छ ।

समिति संयोजक नगर उप प्रमुख सिहले नगर प्रमुख सहितको बैठकले निर्देशिका अनुसार कानुनी कारवाहीमा जाने निर्णय गरिएको बताइन् । ‘आज नगर प्रमुख उपस्थितिमा सबै वडा अध्यक्ष सहितको बैठक बस्यो, बैठकमा छाडा चौपाया समस्या समाधानका लागि गम्भीर छलफल भयो’ उनले भनिन्, ‘त्यो बैठकबाट कानुन अनुसार कारवाही गर्ने निर्णय गरिएको छ ।’

भीमदत्त नगरपालिका वडा नं. १९ बागफाँटास्थित गौशला सञ्चालनमा आएपछि केही वडाका स्थानीयले ट्याग लगाएका गाई गोरु गौशलामा पुगाएका छन् । केही चौपाया बजारमा छाडिएका छन् ।

बजार क्षेत्रमा ट्याग काटिएका, कान काटेर ट्याग हटाएका गोरु समेत बजारमा देखिएको समिति संयोजक चन्दले बताइन् । ‘घर पालुवा पशुको पहिचानका लागि ट्याग लगाएका हौ, अहिले ट्याग काटिएका गाई गोरु सडकमा छाडिएका छन्,’ उनले भनिन्, ‘कतिको कान काटेर ट्याग हटाइएको छ, अमानवीय कार्य गरिएको छ, यस विरुद्ध कानुनी कारवाही बाहेक अरु विकल्प नै छैन ।’

बागफाँटाको गौशलामा समेत अधिकाँश ट्याग लगाएका गाई गोरु लगिएको संयोजक चन्दले बताइन् । नगरपालिकाले सबै वडामा पशु चौपायाको लगत हेरी छाडिएका पशुको पहिचान गरी कारवाही गर्ने भएको छ ।

गत आर्थिक वर्षमा घर पालुवा ३० हजार ५ सय पशु चौपायाको लगत संकलन गरिएको थियो । ती मध्ये २५ हजार पशु चौपायमा ट्याग लगाएको छ । केहीले ट्याग लगाउन असहयोग गरेका थिए ।

भीमदत्त नगरपालिकामा छाडा पशु चौपाया समस्या बल्झाउने गिरोह चौपाया व्यवस्थापन विरुद्ध सुरुदेखि सक्रिय रुपमा लागेको थियो । अहिले त्यहीं गिरोहले घर पालुवा पशु चौपायालाई सडकमा छाड्ने स्थानीयलाई उक्साएको पाइएको छ ।

Logo