प्रदिप रावल भन्छन्, ‘निर्मलाको हत्या कबुल गराउन प्रहरीले पाईपले कुटे’

प्रदिप रावल भन्छन्, ‘निर्मलाको हत्या कबुल गराउन प्रहरीले पाईपले कुटे’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरकी निर्मला पन्तको हत्यापछि बलात्कार प्रकरणमा पक्राउ परेका प्रदिप रावल साधारण तारेखमा रिहा भए ।

निर्मला हत्या प्रकरणमा संलग्न रहेको प्रमाण देखिएको भन्दै प्रदिपलाई मंसिर १८ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । प्रहरीले उनीविरुद्ध प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै ‘सार्वजनिक अपराध’ अन्तर्गत मुद्दा चलाएर निर्मला प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।

प्रहरीले बुधवार रावललाई काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रावललाई साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको हो । अब उनलाई माघ १० गते अदालतमा हाजिर हुन भनिएको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगन्जको हिरासतमा रहेका रावलको निर्मलाको हत्यापछि बलात्कारमा संलग्न रहेको भन्दै डीएनए समेत परीक्षण गरिएको थियो । निर्मलाको योनाङ्गबाट शंकलन गरिएको ‘स्वाब’ सँग रावलको डिएनए नमिलेपछि उनी रिहा भएका हुन् ।

प्रहरी बृत्त महाराजगन्जको नियन्त्रणमा रहेका रावलमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले अनुसन्धान गरेको थियो । रावलको बयान लिन प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल नै बयान लिन सिआईबीको कार्यालय पुगेका थिए । प्रदिपले हत्या गरेको साविती बयान दिएको भन्दै प्रहरीले गोप्य स्रोत मार्फत सूचना सम्प्रेशण गर्न लगाएको थियो । तर उनी निर्दोष सावित भए ।

प्रहरी हिरासतमा हुँदा चरम यातना दिईएको उनले बताएका छन् । प्रहरीले अपराध कबुल गराउन यातना दिएको उनको भनाई छ । सुरुमा बयान दिने क्रममा विशाल चौधरीको नाम लिदैं प्रहरीले ‘उसले बलात्कारपछि हत्या गरेको र त्यसमा तिम्रो पनि संलग्नता’ रहेको भनेका थिए ।

आफु उक्त घटनामा संलग्न नरहेको बताउँदा पाइपले खुट्टै खुट्टामा हानेको उनको भनाई छ । ‘मलाई हत्या कबुल गराउन सुरुमा पाइपले खुट्टै खुट्टामा हाने । पछि काठले हाने । अनि दुवै खुट्टाले मेरो साप्रामा टेकेर हिँडे । त्यति गर्दा पनि मैले अपराध स्वीकार नगरेपछि थप यातना दिए । कहिले कान बटार्ने, कहिले कपाल तान्ने काम गरे । खुवै यातना दिए ।’ उनले भने ।

जति गर्दा पनि मैले अपराध अस्वीकार गरेपछि डिएनए परिक्षणको लागि रगत झिकेको उनको भनाई छ । काठमाडौंको संकटा मन्दिर जाने गल्लीको बाटोबाट आफुलाई पक्राउ गरिएको भन्दैं उनले भने, ‘म बाटोमा हिँडिरहेको थिए । एकाएक उनीहरु आएर समातेर लगे ।’

प्रहरी हिरासतमा रहेका बेला कहिले फ्रिजमा हालिदिन्छौं भन्ने, कहिले हिटरमा पिसाब फेर्न लगाउँछौं भन्ने जस्ता धम्की दिएको उनको आरोप छ । ‘यसलाई त माईतिघर मण्डलामा लगेर निर्मलाको हत्यारा यहि हो भन्दै आन्दोलनकारीको जिम्मा लगाउनुपर्छ भन्थ्ये । या त यसलाई भाग्न दिएर । गोली हानेर भाग्ने क्रममा प्रहरीले गोली हानेको भन्ने बयान दिनुपर्छ भन्थ्ये ।’ उनले भने ।

चरम यातना सहन नसकेर अनि ज्यान मार्ने धम्की दिएपछि डरले निर्मलाको बलात्कारपछि हत्या गरेको कबुल गरेको उनको भनाई छ । यो घटनामा ठूलै मान्छेको हात भएको हुनसक्ने प्रदिपको आशंका रहेको छ ।

सधै नै एउटा निर्दोष व्यक्तिलाई समातेर प्रहरीले चरम यातना दिँदै हत्या कबुल गराउनुलाई पनि यो घटनामा ठूलै मान्छेको हात रहेको हुनसक्ने उनको आशंका हो ।

यसअघि प्रदिपले नाम लिएका विशाल चौधरीले पनि चरम यातना दिएपछि हत्या स्वीकार गरेको बताएका थिए । उनले पनि कञ्चनपुर प्रहरीले चरम यातना दिएको उनको भनाई थियो ।

विशाल चौधरी भन्छन्, ‘निर्मलाको हत्या कबुल गराउन आँखामा कालो पट्टी बाधेर पिटे’

Logo