नेपाल आइडल विजेता रबि ओडकी आमाको करेन्ट लागेर मृत्यु

नेपाल आइडल विजेता रबि ओडकी आमाको करेन्ट लागेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । नेपाल आइडल सिजन २ का विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षिया विस्ना ओडको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

उपचारको लागि उनलाई सेती अञ्चल अस्पताल लगिन लागेको थियो । सेती अञ्चल अस्पतालको ईमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले करेन्ट लागेर घाइते भएकी ओडको अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको पुष्टि गरे।

बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन् । अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याइएको थियो।

आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए ।

अस्पतालले उनलाई सेती अञ्चल अस्पताल रेफर गरेपछि उनलाई त्यसतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। उनको शवलाई अञ्चल अस्पतालमै राखिएको छ।

रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै रहेका बेला घटना भएको हो। रविका तीन भाइ र दुई बहिनी छन्। जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाइबहिनी सबैलाई विष्नाले नै हुर्काएकी थिइन्।

नेपाल आइडलको उपाधि जितेका रविले जितको खुसियाली मनाउँदै गर्दा उनको परिवारमा यो विपत्ति आएको हो । अभिनन्दनको लागि रबि यतिबेला कञ्चनपुरमै छन् ।

उनलाई सुदूरपश्चिम प्रदेश सरकार, विभिन्न नगरपालिका तथा नागरिकहरुले सम्मान गर्दै आएका थिए । विजयी बनेपछि घरमा बसेर आमासँग खुशीयाली साट्न नपाउदैं उनले आमा गुमाउनुपरेको हो ।

Logo