निर्मला काण्डः १७ प्रहरीको सम्पत्ति विवरणमाथि अनुसन्धान

निर्मला काण्डः १७ प्रहरीको सम्पत्ति विवरणमाथि अनुसन्धान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा मुछिएका प्रहरीको सम्पत्ति विवरणमाथि पनि छानविन गरिएको छ । प्रहरी प्रधान कार्यालयले गठन गरेको छानबिन समितिले अनुसन्धानमा संलग्न रहेका १७ जना प्रहरी जवानदेखि प्रहरी अधिकारीसम्मको सम्पत्ति विवरण समेत छानविन गरेको हो ।

समितिले ३७ जना प्रहरीसँग बयान लिएको छ । उनीहरुको गतिविधिबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ । ति मध्ये १७ प्रहरीको आर्थिक विवरणहरुको पनि विश्लेषण गरिएको हो । त्यस्तै अनुसन्धानमा संलग्न २५ जना प्रहरी कर्मचारीको  मोवाइलहरुको प्राविधिक पक्षहरुको विश्लेषण गरिएको छ ।

निर्मला हत्या ‘कबुल’ गरेको भनिएका विशाल चौधरीको डीएनए परिक्षण नमिलेपछि रिहा भएका छन् । विशाललाई शनिवार उनका बुबाको जिम्मा लगाइएको हो । अनुसन्धानका लागि प्रहरीले बोलाएको बेला उपस्थित हुनेगरी छाडिएको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए ।

पछिल्लो समय प्रहरीले विशाल चौधरी र प्रदीप रावललाई पक्राउ गरी अनुसन्धान जारी राखेको थियो । प्रहरीले उनीहरु दुवैले हत्या ‘स्वीकार’ गरेको जनाएको भए पनि डीएनए म्याच नभएपछि उनलाई रिहा गरिएको हो । तर प्रदीप भने प्रहरी हिरासतमै छन् ।

साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । त्यसपछि प्रहरीले अहिलेसम्म गरेका अनुसन्धानबाट पनि हत्याराको नजिक पुग्न सकेको छैन ।

 

Logo