गोरु काट्ने १० जना धरौटीमा रिहा, गोरुकै मासु खुवाएर गाउँमा सम्मान

गोरु काट्ने १० जना धरौटीमा रिहा, गोरुकै मासु खुवाएर गाउँमा सम्मान

केन्द्रबिन्दु
0
Shares

धरान । गोरु काटेको अभियोगमा पक्राउ परेका १० धरौटीमा रिहा भएका छन् । गत मंसिर २८ गते धरान–१७ बाट पक्राउ परेका उनीहरु जिल्ला अदालत सुनसरीको फैसलापछि जनही ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी रहेका थिए ।

उनीहरुलाई सरकारी वकील कार्यालय माफर्त अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतको फैसलापछि उनीहरुलाई छाडिएको इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी सुमन तिमिल्सेनाले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई रिहा गर्न विभिन्न जातीय संस्था, राजनीतिक दलको दबाब परेको थियो ।

रिहा भएपछि गोरुकै मासु काटेर भोजसहित सम्मानः

तस्बिरः अभियन्ता जनकऋषि राईबाट

मुलुक धर्मनिरपेक्ष भएपनि गोरु काटेकै अभियोगमा उनीहरुलाई पक्राउ गरिएको भन्दै आदिवासी जनजातिहरुले विरोध गर्दै आएका थिए । रिहा भएपछि उनीहरुलाई धरानमा सम्मान गरिएको छ ।

सांस्कृतिक अधिकार संरक्षण समितिले उनीहरुलाई सम्मान गर्दै गोरुको मासुसहितको भोज आयोजना गरिएको सांस्कृतिक अधिकारका अभियन्ता जनकऋषि राइले जानकारी दिए ।

धरान–११ स्थित मङ्गलबारे चौकमा आयोजना गरिएको सो सम्मान कार्यक्रममा आदिवासी जनजाति सम्बद्ध विभिन्न संस्था तथा राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

Logo