जाजरकोटमा ७४ प्रतिशत बालविवाह

जाजरकोटमा ७४ प्रतिशत बालविवाह

केन्द्रबिन्दु
0
Shares

जाजरकोट

सविता खत्रीको उमेर १२ वर्ष मात्र भयो । उनी खलंगाको त्रिभुवन माविमा कक्षा ६ पढ्दै थिइन् । तिनै सविताले बिहे गरेको खबर सुनेर उनका शिक्षक र साथीहरू अचम्मित भए। तर जाजरकोटमा बालविवाह विरलै हुने घटना होइन । यस जिल्लामा ७४ प्रतिशतले उमेर नपुग्दै घरजम गर्छन् । जसले गर्दा पढाइ छोड्ने र सम्बन्ध विच्छेद गर्नेको संख्या बढिरहेको छ ।

धादिङका १८ वर्षीय दुर्गा तामाङ पुल बनाउन जाजरकोट आएका थिए । सविताले उनैसँग भागीविवाह गरेकी छन् । गाउँलेले भनेपछि मात्रै उनका बुबा अक्कलबहादुर खत्रीले छोरीले बिहे गरेको थाहा पाए । ‘दिनहुँ पढ्न जान्थी । हामीलाई थाहा नदिई यति सानै उमेरमा पोइल जाली भन्ने सोचेका थिएनौँ,’ उनले भने । उमेर नपुगेकी छोरीले बिहे गरेपछि दुःख पाउलिन् भन्ने चिन्ता उनलाई थपिएको छ ।

सविता मात्रै होइन, विवाहबारे थाहै नभएका थुप्रै केटाकेटीले जोडी बाँध्ने गरेका छन् । सविताकै स्कुलको कक्षा ८ मा पढ्ने १३ वर्षीया लक्ष्मी घर्ती र विमला कुँवर तथा १४ वर्षकी कल्पना विकले पनि विवाह गरेका छन् । दुई साताभित्र चार छात्राले भागीविवाह गरेपछि शिक्षक र विद्यार्थी चकित छन् । घरको आर्थिक अवस्था नाजुक र पढाइमा पनि कमजोर रहेका बालबालिकाले उमेर नपुग्दै विवाह गर्ने गरेको शिक्षक रेखा शाहले बताइन् । ‘सानैमा बिहे नगर्नू भनेर सम्झाउँछौँ । तर बालविवाह रोकिएको छैन,’ उनी भन्छिन् । अधिकांश छात्राछात्राको स्कुल पढ्दापढ्दै विवाह हुने गरेको वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए ।

बालबालिकाको स्थिति प्रतिवेदन अनुसार जाजरकोटमा ७४ प्रतिशतले उमेर नपुग्दै लगनगाँठो कस्ने गरेका छन् । जम्मा ६७ हजार ३ सय ३२ जना विवाहितमध्ये १९ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ४९ हजार ८ सय ६२ छ । एक सय ६५ जनाले १० वर्षकै उमेरमा विवाह गरेका थिए । १० देखि १४ वर्षसम्मका पाँच हजार ६ सय ६८ जना छन्। त्यस्तै १५ देखि १९ वर्षको उमेरमा ४४ हजार २९ जना बालबालिकाको विवाह भएको प्रतिवेदनमा उल्लेख छ । बालविवाह गर्नेमा बालकभन्दा बढी बालिका छन् । ६२.८७ प्रतिशत बालिका र ३७.१३ प्रतिशत बालकले उमेर नपुगी घरजम बसाएका छन् ।
अन्नपूर्णबाट

Logo