गृहकार्य नगरेको भन्दै विद्यालयको शौचालय सफा गर्ने सजाय

गृहकार्य नगरेको भन्दै विद्यालयको शौचालय सफा गर्ने सजाय

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम । गृहकार्य नगरेको भन्दै एक विद्यार्थीलाई शौचालय सफा गर्न लगाईएको छ । धनुषाको बटेश्वर गाउँपालिका १ का विन्देश्वर महतोका ११ वर्षीय छोरा बसन्तकुमार महतोलाई गाउँकै सनसाइन र्बोडिङ स्कुलका शिक्षकले सबै गृहकार्य नगरेको भन्दै शौचालय सफा गर्न लगाएर सजाय दिएका हुन्।

कक्षा ५ मा अध्ययनर बसन्त र उनका साथीलाई मंगलबार अंग्रेजी विषयमा चारवटा गृहकार्य गरेर ल्याउन शिक्षक फ्रेकी चेम्जोङले भनेका थिए। जसमध्ये एउटा छुटेपछि शिक्षकले सजाय स्वरुप शौचालय सफा गर्न लगाएका हुन् ।

गृहकार्य गर्न बिर्सिएका बसन्तका साथी शत्रुधन साह र सुर्दशन शर्मालाई पनि शौचालय सफा गर्न लगाइएको थियो। विद्यालयमा यसरी शौचालय सफा गर्न लगाइएको कुरा बसन्तले घर आएर बुवालाई सुनाएका थिए। छोराले रुदैं आफूलाई सबै कुरा सुनाएपछि साँझको बेला छोरालाई लिएर आफू गुनासो गर्न विद्यालय पुगेका थिए ।

विद्यालयका प्रधानाध्यापक श्रवणकुमार महतो र अंग्रेजी शिक्षकलाई घटनाको विषयमा गुनासो गर्दा उल्टै आफूलाई गाली गरेको उनको भनाइ छ।

आफ्नो छोराले कुनै प्रकारको गल्ती गरेको हो भने त्यो जानकारी अभिभावकलाई नगराई सोझै बच्चालाई गलत छाप पर्ने खालको सजाय दिएपछि आफूले विद्यालय र शिक्षकविरुद्धमा गाउँपालिकाको न्यायिक समितिमा उजूरी दिएको विन्देश्वरले जानकारी दिए।

विद्यालयका प्रअ श्रवण महतोले भने विद्यालयको बदनामी गर्न सुनियोजित आरोप लगाइएको बताएका छन्।

Logo