त्रासले घरमा सुत्दैनन् निर्मलाका दिदीबहिनी

त्रासले घरमा सुत्दैनन् निर्मलाका दिदीबहिनी

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर

टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन् । एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन् । बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निरास देखिन्थे ।

‘आमा र बुबा काठमाडौं गएपछि हामी दुई दिदीबहिनी मात्र घरमा छौं’, दबेको स्वरमा मनीषाले भनिन्, ‘त्रासले घरमा सुत्न सक्तैनौं ।’ दिउँसो उज्यालोमा त उनीहरूलाई समय बिताउन त्यति कठिन हुँदैन । साँझ अँध्यारो हुन थालेसँगै उनीहरूको मुटुको धड्कन बढ्छ । छिमेकी भाउजू मञ्जु भट्टको घरमा गएर आश्रय लिन्छन् । ‘दिउँसो उज्यालोमा जसोतसो हामी घरमा बसिहाल्छौं’, उनले भनिन्, ‘अँध्यारो भएपछि घरभित्रै डर लाग्छ । भाउजूको घरमा गएर सुत्ने गरेका छौं ।’ साँझ ६ बजेतिर उनीहरू मञ्जुकहाँ जान्छन् । राति त्यहीं सुत्छन् ।

आमा नहुँदा उनीहरूले राम्रोसँग खाना पनि खाएका छैनन् । ‘आफैं पकाएर खान्छौं । साँझ ढिलो भए खाना बनाउँदैनौं’, मनीषाले भनिन् । ‘साँझ यिनीहरूले घरमा पनि खाना बनाउँदैनन् । मैले पकाएर खाऊ भन्दा पनि मन लगाएर खाँदैनन्’, मञ्जुले भनिन्, ‘साँझ ६ बजेतिर मेरो घरमा आउँछन्, आएनन् भने म आफैं खोज्न जान्छु ।’

तीन बहिनीमा निर्मलालाई मिठो खाना बनाउन आउने भएकाले आमा यताउता हुँदा उनले पकाउने गरेको मनीषाले बताइन् । ‘बहिनीले खाना पकाउँथी । हामीले पकाउनु पर्दैनथ्यो’, उनले भनिन्, ‘अहिले हामीलाई खाना पकाउन गाह्रो हुने गर्छ ।’ बुबालाई सन्चो हुँदैछ छ भनेर आमाले फोन गरेको मनीषाले बताइन् । ‘कहिले घर आउने टुंगो छैन, सन्चो भएपछि मात्र आउँछु भन्नुहुन्थ्यो’, उनले भनिन् ।

मनीषा कक्षा १० र सरस्वती ७ मा पढ्छन् । अहिले उनीहरूको दुवैको दोस्रो त्रैमासिक परीक्षा चलिरहेको छ। बिहान उनीहरू परीक्षा दिन विद्यालय जान्छन् । उनीहरूलाई पढ्ने वातावरण छैन। ‘राति डरले घरमा बस्न सक्दैनौं । भाउजूको घरमा गएर रात बिताउँछौं’, मनीषाले भनिन्, ‘पढ्न मन लाग्दैन ।’ मनीषा पढाइमा अब्बल छिन् । उनी प्रत्येक वर्ष कक्षामा प्रथम र दोस्रो हुँदै आएकी छन्। सरस्वती पनि पढाइमा राम्रै छिन्। मनीषा डरले ट्युसन पढ्न जान सकेकी छैनन् । ‘साथी पाएर केही दिन ट्युसन पढ्न गएँ, ती साथी नजाने भएपछि डरले म एक्लै जान सकेकी छैन’, उनले भनिन् ।

नागरिकबाट

Logo