बाबुबाटै बलात्कृत छोरीः ‘नरपिचास बाबुको अनुहार कहिल्यै देख्न नपरोस्’

बाबुबाटै बलात्कृत छोरीः ‘नरपिचास बाबुको अनुहार कहिल्यै देख्न नपरोस्’

केन्द्रबिन्दु
0
Shares

(कृष्णसिंह धामी)

काठमाडौं । यतिबेला महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । ‘लैंगिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने नारा तय गरिएको यो वर्षको अभियानका क्रममा विभिन्न कार्यक्रमहरु भईरहेका छन् । देशविदेशमा यो अभियानको क्रममा जनचेतनामुलक कार्यक्रमहरु आयोजना भईरहेको छ ।

यो अभियान हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वभर चल्छ । तर जे जति जस्ता अभियान चलेपनि महिला हिंसाका घटना भने बढ्दै गएको पाईन्छ । त्यसमा पनि पछिल्लो समय बलात्कारका घटना तीब्र गतिमा बढिरहेको छ ।

बलात्कृत हुनेहरुमा विशेषगरी बालिका बढि रहेका छन् । बलात्कारजन्य घटनामा आफन्तहरु नै मुछिने गरेको पाईन्छ । नेपाल प्रहरीको तथ्यांकले पनि यस्तै देखाउँछ । आज हामी तपाईलाई ३ वटा प्रतिनिधि घटनाका बारेमा जानकारी दिन गईरहेका छौं । गोपनियताका कारण उनीहरुको नाम खुलाईएको छैन् ।

घटना नं. १ः
ललितपुर, गोदावरीकी एक युवतीले अन्तरजातीय प्रेमविवाह गरिन् । विवाहलाई माइतीले स्वीकार नगरे पनि माया गर्ने श्रीमान पाएकी थिईन् । वैवाहिक जीवन राम्रैसँग चलेको थियो । उनीहरुले एक वर्षपछि छोरीलाई जन्म दिए । छोरी जन्मेपछि उनले माइतीको अभाव पनि पूरा भएको ठानिन् ।

२०७२ सालको भूकम्पपछिको एक दिन उनको जीवनमा ठूलो बज्रपात भयो । पालमुनि बसेका बेला लोग्नेले ९ वर्षीया छोरीलाई जबर्जस्ती गरेको आफ्नै आँखाले देखिन् । उनले तत्कालै प्रतिकार गर्न चाहिन तर सकिनन् । उनले आफूलाई सम्हाल्दै प्रहरीमा उजुरी गरिन् ।

जिल्ला अदालत, ललितपुरले उनको लोग्नेलाई १० वर्ष कैद ग¥यो । उनले अदालतमा भनेकी थिईन्, ‘यस्तो लोग्ने मलाई चाहिंदैन । यो अपराधी आजीवन जेलमै बसेको हेर्ने मन छ ।’ यतिबेला छोरी कुनै गैरसरकारी संस्थाको सरणमा बस्छिन् ।

घटना नं. २ः
दोलखामा एक किशोरी आफ्नै बाबुबाट पटक पटक बलात्कृत भईन् । प्रतिकार गर्न खोज्दा उनले सकिनन् । सधैजसो बाबुबाट बलात्कृत हुँदा पनि कसैलाई भनिनन् । ९ कक्षामा पुगेपछि उनी र भाइलाई राम्रो स्कूलमा पढाउने भन्दै बाबुले दोलखा ल्याए । दोलखा आएपछि पनि उनको बानी फेरिएन् । दोखलामा बस्दा पनि उनी आफ्नै बाबुकी रखौली जस्ति बनेर बसिन् । अति भएपछि एक दिन उनले आमालाई भनिन् ।

सोधखोज गर्दा बाबुले उल्टै आमालाई झपारे । तर बलात्कारको क्रम चलिरह्यो । घटना बाहिर ल्याएपछि पढाई बिगे्रला भन्ने सोचेर २०७० सालमा एसएलसी परीक्षापछि उनले यो कुरा बाहिर ल्याउने निधो गरिन् । परीक्षा सकिएको चार दिनपछि जिल्ला प्रशासन कार्यालय पुगेर चिनजानकै एक जना महिला कर्मचारीसँग उनले कुरा राखिन् । ति महिलाले सिडियोलाई पनि जानकारी गराइन् र प्रहरीमा खबर गरेपछि बाबु पक्राउ परे ।

जिल्ला अदालत दोलखाले उनलाई १२ वर्ष जेल सजाय र १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गर्‍यो । बाबु पक्राउ परेको एक सातासम्म उनी घरमै बसिन् । तर आमाले बयान फेरेर बुबालाई बाहिर निकाल्ने दबाब दिन थालिन् । आमाको दबाब सहन नसकेर उनले घर छाडिन् ।

उनले एउटा गैरसरकारी संस्थाको संरक्षणमा बसेर १२ कक्षाको पढाई सकाएकी छन् । बलात्कार गर्ने बाबुले मुद्दा पुनरावेदन गरेका छन् । आमाले पनि ‘घर नआइज’ भनेका छन् भने बाबुले ‘मुद्दा उल्टिएपछि तलाई जानेको छुँ’ भन्दै धम्कीको खबर पठाएको छ ।

घटना नं. ३ः
२०६८ सालमा धादिङका एक दम्पतिले एक महिनाकी बालिकालाई धर्मपुत्री बनाए । सन्तान नभएपछि उनीहरुले धर्मापुत्री बनाएका थिए । बालिकाले उनीहरुको सानो परिवारमा खुशी भित्र्याईन् । २०७३ वैशाखमा मातातीर्थ औंसीमा छोरीलाई घरमा छाडेर उनी श्रीमती माईत गईन् । त्यहीबेला, २४ वैशाख २०७३ को दिन उनका लोग्नेले पाँच वर्षीया छोरीलाई बलात्कार गरे ।

३१ वैशाखमा माइतीबाट फर्कंदा छरछिमेकीले यसबारे सुनाए । उनले छोरीलाई सोधिन् । छोरीले पनि ‘हो’ भनेपछि धादिङबेसी पुगेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । तर पहिले बलात्कार गरेको आफ्नै आँखाले देखेको बताउने छरछिमेकीले उजुरी दर्ता गरेर फर्केपछि भने ‘हुँदै नभएको कुरामा लोग्नेलाई फँसाएको’ भने । ति महिला भन्छिन्, ‘पहिले देखेका हौं भन्नेहरूले हामीलाई थाहा छैन भने । मेलापर्ममा आउन छाडे । उल्टै मलाई चोरीको आरोप लगाए ।’

उनले आफूमाथि दुव्र्यवहार गर्ने सात जना छिमेकी विरुद्ध प्रहरीमा उजुरी गरिन् । प्रहरी कार्यालयमा भएको छलफलमै केहीले ‘गाउँमा विकृति फैलाएको र यस्तै गरिरहे ज्यान जान सक्ने’ समेत धम्की दिए । प्रहरीले मिलापत्र गरेर पठायो ।

धेरै गर्न थालेपछि उनले २०७३ भदौमा गाउँ छाडिन् । अहिले छोरीसहित उनी भक्तपुरमा बस्छिन् । जिल्ला अदालत धादिङले २०७३ साउनमा बलात्कारी बाबुलाई ११ वर्ष कैद सजाय सुनाएको छ ।

प्रहरीको डरलाग्दो तथ्यांकः
प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा १ सय ६९ जना छोरीहरु आफ्नै बाबुबाट बलात्कृत भएकी छन् । त्यस्तै बलात्कार गर्नेमा हजुरबा पनि पनि कम छैनन् । ३५ जनामाथि आफ्नै हजुरबाले नीच हर्कत गरेका छन् । यी पीडितमध्ये कतिपय मानसिक समस्याले सताएको छ भने कोही विभिन्न संस्थाको संरक्षणमा छन् ।

यो आर्थिक वर्षमा मात्रै २५ छोरीहरु बाबुबाटै बलात्कृत भएकी छन् । आर्थिक वर्ष ०७१/७२ मा १० जना हजुरबा र ३२ जना आफ्नै बाबुबाट बलात्कृत भएका छन् । त्यस्तै । ०७२/७३ मा २८, ०७३/७४ मा ४० छोरी बाबुबाटै बलात्कृत भएकी छन् । गत आर्थिक ०७४/७५ मा सबैभन्दा बढी ४४ घटना भएका थिए । बलात्कृत हुने प्रायः १५ वर्षभन्दा मुनिका बालिका छन् ।

जनचेतना आवश्यकः
नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले मादक पदार्थ सेवनले यस्ता घटनालाई बढावा दिएको बताउँछन् । बलात्कार आफैंमा गम्भीर प्रकृतिको अपराध भएको भन्दै एसएसपी सुवेदीले यस्ता अपराधलाई निर्मूल जनचेतना फैलाउनु आवश्यक रहेको बताए । यस्ता हिंसालाई न्यूनीकरण गर्न पाठ्यक्रम नै तयार पारेको प्रवक्ता सुवेदी बताउँछन् ।

उनी भन्छन्, ‘प्राय यस्ता घटना मादक पदार्थ सेवनपछि भएको देखिन्छ । घरमा श्रीमतीसँग राम्रो मेलमिलाप नभएको वा विक्षिप्त मानसिकता भएका पुरुषहरुबाट यस्ता घृणित कार्य भएको देखिन्छ ।’ यसको लागि पारिवारिक सम्बन्ध पनि राम्रो हुनुपर्नेमा उनको जोड छ ।

श्रीमती विदेशमा गएका परिवारमा समेत यस्तो समस्या व्याप्त रहेको पाईन्छ । श्रीमती लामो समयदेखि विदेशमा रहने र घरमा रहको श्रीमानको ध्यान हुर्किएकी छोरी चेली तथा महिलामाथि पर्ने गरेको देखिन्छ । एसएसपी सुवेदीका अनुसार वैदेशिक रोजगारीले बलात्कार जन्य घटना बढाएको छ ।

कस्तो छ कानून ?
अहिलेको कानूनले १० वर्षभन्दा कम उमेरका बालिकालाई जवरजस्ती करणी गरेको अवस्थामा १६ देखि २० वर्षसम्म कैद सजाय तोकेको छ ।

त्यस्तै, १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरको भएमा १४ देखि १६ वर्ष, १४ वर्षभन्दा बढी र १६ भन्दा कम उमेरमा १२ देखि १४ बर्ष र १६ देखि १८ वर्षको भएमा १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ । १८ वा सोभन्दा बढी उमेरका महिलालाई जबरजस्ती करणी गरेमा ७ देखि १० वर्षसम्म कैद सजाय तोकिएको छ ।

कसैले हाडनाता करणी गरेमा सजाय थप हुनेछ । सौतेनी आमा–छोरा, बाबु–छोरी, सहोदार दिदी–भाइ एउटै हाँगाका ससुरा–बुहारी, देवर–भाउजू लगायत हाडनाता करणी भएको अवस्थामा ४ देखि १० वर्षसम्मको कैद र ४० हजारदेखि १ लाखसम्म जरिवार थपिनेछ । त्यस्तै, वैवाहिक बलात्कारमा ५ वर्षसम्म कैद सजायँको व्यवस्था गरिएको छ ।

Logo