घरबाटै बिक्यो साढे तीन लाखको सयपत्री

घरबाटै बिक्यो साढे तीन लाखको सयपत्री

केन्द्रबिन्दु
0
Shares

झापा मेचीनगरकी एक किसानले तिहारमा रु साढे तीन लाखको सयपत्री फूलको माला घरबाटै बिक्री गरेका छन् ।

मेचीनगर–९ की दीक्षा उप्रेतीले १० कट्ठा जग्गामा उत्पादन गरेको फूल बेचेर उक्त आम्दानी गरेका हुन् । उनले डिएन्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत चार वर्षदेखि नर्सरी व्यवसाय गर्दै आएका छन् ।

उनले लक्ष्मीपूजाको दिन फूलको माला पाँच हजार ५०० थान, ६६ हजार थुँगा र ५०० गुच्छा घरबाटै बिक्री भएको बताए । माला प्रतिथान रु ५०, थुँगा प्रतिवटा रु एक र गुच्छा रु १५ का दरले बिक्री भएको थियो ।

तिहारलाई लक्षित गर्दै उनले सयपत्री फूलको खेती गरेका थिए । बिक्रीबाट रु तीन लाख ४८ हजार ५०० आम्दानी भएको उनको भनाइ छ । जसमा रु तीन लाख खुद नाफा भएको उप्रेतीले बताए ।

तिहार लागेपछि सयपत्री फूल खरिद गर्न सर्वसाधारण र व्यवसायी दुवै घरमा आएको हुँदा फूल बेच्न बजार खोज्न जान नपरेको उनले बताए । उनको फूलखेतीमा कलकते भेराइटिज जातको सयपत्रीको फूल फुलेको थियो । अझै ५० हजार फूल फूल्न बाँकी रहेको उनको भनाइ छ ।

उप्रेतीको बारीमा फूलेको फूल भारतबाट आयातीत फूलभन्दा राम्रो र ताजा भएका कारण सर्वसाधारणले उनकै बारीमा पुगेर तिहारमा फूल किनेको स्थानीय रेणुका डाँगी बताउँछन् । रासस

Logo