काठमाडौँ

सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिनेमा महिला भन्दा पुरुष बढी देखिएका छन् । "/>

सम्बन्ध विच्छेदमा पुरुष अघि : महिलाको संख्या पनि वढ्दो

सम्बन्ध विच्छेदमा पुरुष अघि : महिलाको संख्या पनि वढ्दो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिनेमा महिला भन्दा पुरुष बढी देखिएका छन् । १ भदौ यता काठमाडौं जिल्ला अदालतमा ९८ जना पुरुषले पत्नीसँग छुट्टिन निवेदन दिए । त्यस अवधिमा अदालत पुग्ने महिला ८७ मात्रै छन् ।

डेढ महिनामा महिला र पुरुष दुवै गरी एक सय ८५ जनाले पारपाचुकेका लागि अदालतको ढोका ढक्ढकाएका हुन् । दैनिक आठ, नौ जनाको दरमा अदालतमा यस्ता निवेदन पर्ने गरेका छन् । गत वर्ष यही अवधिमा तीन चार जना महिला मात्रै आउने गरेको अदालतको अभिलेखले देखाएको छ ।

भदौ १ गते देखि मुलुकी देवानी संहिता ऐन, २०७४ लागू भएपछि पुरुष सोझै अदालतमा जाने व्यवस्था भएको हो । पहिले पुरुष सम्बन्ध विच्छेदका लागि सीधै अदालतमा जाने कानुनी प्रबन्ध थिएन । वडाको सिफारिसमा गाविस, जिविस वा नगरपालिका हुँदै पुरुष बल्ल अदालतमा पुग्न पाउँथे । पत्नी मात्रै सोझै अदालत जान पाउने व्यवस्था थियो ।

वैदेशिक रोजगारीमा दुई वर्ष दोहा बसेर फर्केपछि नुवाकोट त्रिशुली घर भई काठमाडौं मनमैंजु बस्ने एक पुरुष सम्बन्ध विच्छेदका लागि दसैं अघि काठमाडौं जिल्ला अदालत पुगे ।

निवेदनमा जनाइए अनुसार २०६० सालमा उनको ‘लभ म्यारिज’ भएको थियो । यी दम्पत्तीबाट एक छोरी जन्मेकी छिन् । छोरी आठ कक्षा पढ्दै छिन् । छ महिना अघि विदेशबाट घर फर्किएपछि मनमुटाव, पारिवारिक अशान्ति, मानसिक तनाव बढेको बताउँदै एकसाथ जीवन बिताउन नसक्ने कारण उनले दर्शाएका छन् । पत्नीको परपुरुषसँगको हिमचिमलाई उनले सम्बन्धविच्छेदको मुख्य कारक देखाएका छन् ।

उनी जस्तै दैनिक ४/५ जना पुरुष धमाधम अदालत धाउन थालेका छन् तर कारण भने एक मात्र छैनन् । यी दम्पत्तीलाई डाकेर एकपल्ट सम्झाइबुझाइ गर्दै मेलमिलाप गराइदिने तयारीमा अदालत छ ।

सम्बन्ध विच्छेदका लागि अदालत जाने महिलाको संख्या पनि अघिल्ला वर्षको तुलनामा बढ्दो छ । पतिले खान लाउन नदिएको, घरेलु हिंसा गरेको, विदेश गएपछि बेवास्ता गरेको, घर निकाला गरेको, परस्त्रीगमनमा लागेको लगायत कारण महिलाका निवेदनमा दर्शाइएका छन् । कतिपय पति पत्नी विदेश जाने प्रयोजनका लागि अर्को नक्कली विवाह गरेर पनि आउने गरेका छन् ।
अन्नपूर्णबाट

Logo