दैलेख
सदियौं देखि पश्चिम नेपालमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायले पहिलो पटक स्थायी परिचयपत्र प्राप्त गरेको छ । "/>

राउटेलाई स्थायी परिचयपत्र : पैसा त रहँदैन्, परिचयपत्र कहाँ राख्नु ?

राउटेलाई स्थायी परिचयपत्र : पैसा त रहँदैन्, परिचयपत्र कहाँ राख्नु ?

केन्द्रबिन्दु
0
Shares

दैलेख
सदियौं देखि पश्चिम नेपालमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायले पहिलो पटक स्थायी परिचयपत्र प्राप्त गरेको छ । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका नागरिकलाई पहिलो पटक शनिबार स्थायी परिचयपत्र वितरण गरेको हो। स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अव देखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् ।

स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवा, आमाको नाम र पति, पत्नीको नाम उल्लेख गरिएको छ । ‘राउटे समुदायलाई राष्ट्रिय मूलधारमा ल्याउन, सामाजिक सुरक्षा भत्तामा एकरुपता ल्याउन, नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरेका हौं’ गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले भने, ‘यसका साथै अध्ययन, अनुसन्धान, संरक्षण र सहयोगलाई एकद्धार प्रर्णालीमार्फत सञ्चालन गर्नका लागि दुई जना कर्मचारी पनि नियुक्त गरेका छौं ।’

राउटे समुदाय जहाँजहाँ पुग्छ, गाउँपालिकाले नियुक्त गरेका कर्मचारी त्यहीँ, त्यहीँ पुग्नेछन् । कर्मचारीहरुले रातिमा प्रोजेक्टर मार्फत राउटे समुदायका बालबालिकालाई अक्षर चिन्ह सिकाउने, सन्देशमूलक भिडियोहरु देखाउने लगायतका काम गर्ने अध्यक्ष वलीले जानकारी दिए । दैलेख सहित सुर्खेत, सल्यान, दाङ, अछाम, कालिकोट लगायतका जिल्लामा बसोबास गर्ने राउटे समुदायले अव गुराँस गाउँपालिका मार्फत मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् । उनले राउटे समुदायलाई कालान्तरमा नागरिकता पनि प्रदान गरिने बताए ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले जंगलमा फिरन्ते जीवन विताउँदै आएको समुदायलाई राज्यको मूलधारमा ल्याउन परिचयपत्रले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । शनिबार गुराँस गाउँपालिका–८ स्थित पातलेखोलामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर परिचयपत्र वितरण गरिएको थियो ।

गुराँस गाउँपालिकाले शनिबार पातलेखोलामा फोटो सहितको परिचयपत्र वितरणको कार्यक्रम राखेको थियो । परिचयपत्र लिने राउटे समुदायको उपस्थिति भने अत्यन्तै न्यून थियो । महामुखिया महिनबहादुर शाहीले मन नलागी नलागी परिचयपत्र लिए । ‘हामी एउटै ठाउँमा बस्दैनौं, झोलामा राखेको रुपियाँ–पैसा त रहँदैन्, परिचयपत्र कहाँ राख्नु ?’ उनले प्रश्न गरे, ‘बरु यसको सट्टा रुपियाँ पैसा र खाद्यान्न दिए राम्रो हुन्थ्यो ।’

गाउँपालिकाका अनुसार ४२ घरमा एक सय ४९ जना राउटे छन् । परिचयपत्र वितरण कार्यक्रममा २५ को हाराहारीमा मात्रै राउटे समुदाय उपस्थित थिए । राउटे समुदायमा एक महामुखिया सहित चार जना मुखिया हुन्छन् । ति मध्ये दुई जना मुखिया कार्यक्रममा उपस्थित भएनन् । ‘पुर्खा देखि नलिएको परिचयपत्र हामीले लिन मिल्दैन ’ कार्यक्रममा अनुपस्थित मुखिया सूर्यनारायण शाहीले भने, ‘खाद्यान्न र पैसा दिए लिन्छौं, परिचयपत्र लिँदैनौं ।’
नागरिकबाट

Logo