प्रेस स्वतन्त्रता सेनानी वैश्यलाई पत्रकार महासंघको सहयोग

प्रेस स्वतन्त्रता सेनानी वैश्यलाई पत्रकार महासंघको सहयोग

केन्द्रबिन्दु
0
Shares

चितवन, ४ पुस ।

क्यान्सर रोगले थला परेका बाँकेका अग्रज पत्रकार रामगोपाल वैश्यलाई नेपाल पत्रकार महासंघले आज सहयोग रकम हस्तान्तरण गरेको छ ।

प्रोस्टेट क्यान्सरका कारण तीन दिनदेखि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वैश्यको उपचार भइरहेको छ । उनलाई महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले महासंघका तर्फबाट रु १५ हजार उपचार खर्च उपलब्ध गराएका हुन् ।

साथै केन्द्रीय सदस्य गिरी, केन्द्रीय सदस्य सिर्जना अर्याल, जिल्ला अध्यक्ष राधेश्याम खतिवडा, उपाध्यक्ष नारायण अधिकारीसहितको टोलीले उनको उपचारमा संलग्न चिकित्सक डा निर्मल लामिछानेलाई भेट गरी बिरामीको स्थितिका सम्बन्धमा जानकारी लिएको थियो ।

लामिछानेले उनलाई प्रोस्टेट क्यान्सर भएको र उपचार गर्न ढिलो गरी आएकाले बढी समस्या देखिएको बताए । उनको पिसाबमा रगत देखिएको, जण्डिसको समस्या हुनुका साथै प्लेटलेसको मात्रा घटेको र कलेजो सुनिएको जस्ता थप समस्या देखिएकोे जानकारी दिंदै डा लामिछानेले उपचारमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताए ।

क्यान्सर सेवा समाजका अध्यक्ष श्यामप्रसाद लामिछानेले समाजका तर्फबाट उनको उपचारमा सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

वैश्यलाई यसै वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानीको रुपमा सम्मान गरेको थियो । उनका छोरा अजय गुप्ताका अनुसार झण्डै ४५ वर्षअघि वैश्यले चेतना र राष्ट्रपुकार साप्ताहिकबाट पत्रकारिता थालेकोमा त्यसको केही वर्षपछि आफैले शुरु गरेको शंखनाद साप्ताहिकको प्रकाशन अहिले पनि नियमित छ ।

उनले केही समय बीबीसीमा पनि संवाददाताको रुपमा काम गरेको छोरा अजयले बताए । पचहत्तर वर्षीय वैश्य नेपालगञ्ज उपमहानगरपालिका–७ रानीतलाउ टोल बस्दै आएका छन् । रासस

Logo