पर्यटकीयस्थल विकासका लागि फेसबुकबाट एक लाख संकलन

पर्यटकीयस्थल विकासका लागि फेसबुकबाट एक लाख संकलन

केन्द्रबिन्दु
0
Shares

बैतडी, ३ पुस ।

पत्ताल भुमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् ।

रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा संवद्र्धनका लागि सामाजिक सञ्जालमार्फत रु एक लाख बढी रकम संकलन गरेका छन् ।

सुर्नया गाउँपालिका– २ मा रहेको नेपालकैै गहिरो पत्तालभुमेश्वर गुफा रहेको तथा धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रचारप्रसारका लागि मलेसिया, कतार तथा भारतमा रहेका युवाले गत मंसिर १५ गतेदेखि पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाइन अभियान नाम दिएर उक्त रकम संकलन गरेका हुन् ।

उक्त अभियानका सह–कोषाध्यक्ष वीरबहादुर विष्टका अनुसार हालसम्म रु एक लाख एक हजार ६१७ संकलन भएको छ । उक्त संकलित रकमले पत्ताल भुमेश्वरको प्रवेशद्वारमा मूलगेट र अन्य भौतिक विकासका लागि खर्च गरिने बताइएको छ ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलको सम्बन्धित निकायले संरक्षण, विकास, प्रवद्र्धन तथा प्रचारप्रसार गर्न स्थानीय तह तथा सम्बन्धित निकायले खासै पहल नगर्दा प्रवासमा रहेका युवा एकजुट भएका हुन् ।

बैतडीको सुर्नया गाउँपालिका घर भई हाल मलेसियामा कार्यरत तिलक पाण्डेले रु १० हजार, भारतमा रहेका निशान्त विष्ट र विनोद विष्टले जनही रु आठ-आठ हजार, मलेसियमा रहेका पूर्णबहादुर विष्टले रु छ हजार २८० सहयोग गरेका छन् ।

यस्तै सुर्नया घर भई हाल मलेसिया रहेका महेश पाण्डेले रु छ हजार २५०, तिलक चन्दले रु छ हजार १५१, मानबहादुर विष्ट रु पाँच हजार सहयोग गरेका छन् । रासस

Logo