गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ

गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १७ मंसिर ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले डेढ महिनादेखि फरार रहेका हत्याका मुख्य योजनाकार बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतलाई चितवनबाट पक्राउ गरिएको ब्युरो प्रमुख डिआइजी पुस्कर कार्कीले बताए ।

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानी हत्या गरेका थिए । प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ, नागार्जुनका प्रकाश बुढाथोकी, ताप्लेजुङका वसन्त थेबे र पाँचथरका धनराज योङहाङ थिए ।

लेनदेनको विषयलाई लिएर घटना भएको अनुसन्धानबाट खुुलेको ब्युरो प्रमुख डिआइजी कार्कीले बताए । गौचनसित हुलाकी मार्ग निर्माण ठेक्कामा बस्नेतले २ प्रतिशत कमिसन मागेका थिए ।

बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएको प्रहरीले जनाएको छ । बस्नेतको आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको थियो ।

गुन्डा नाइके दावा लामामाथि गुहेश्वरी फाँटमा रहेको दिव्य पार्टी प्यालेसमा गोली प्रहारमा पनि यही समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । त्यस्तै बुटवलमा नेकपा एमालेको युवा संगठन युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि यिनीहरुकै संलग्नता रहेको प्रहरी स्रोतको दाबी छ ।

हत्याका मुख्य योजनाकार बस्नेतले अभियुक्त मनोज पुनसँग मिलेर गौचनको हत्यालाई अन्तिम रुप दिएका थिए । बस्नेत प्रहरीको रेकर्डमा हत्या लगायत आपराधिक क्रियाकलाप गरेर लामो समयदेखि मोस्ट वान्टेडको सूचीमा रहेका अपराधी हुन् ।

 

Logo