अछाममा महिलाका अधिकार सबैभन्दा बढी हनन

अछाममा महिलाका अधिकार सबैभन्दा बढी हनन

केन्द्रबिन्दु
0
Shares

अछाम, ४ मंसिर ।

जिल्लामा पुरुषभन्दा बढी महिलाका अधिकार हनन हुने गरेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगद्वारा सदरमुकाम मंगलसेनमा आयोजित ‘मानवअधिकारका मुख्य सवालहरु पहिचान’ विषयक अन्तक्र्रियामा सहभागीले सो कुरा बताएका हुन् ।

घरेलु हिंसा, बलात्कार, छाउपडी, लैंगिक समानतामा विभेद, श्रमलगायतका क्षेत्रमा चरम विभेद हुने गरेको उनीहको भनाइ थियो । “महिलाले रातदिन श्रम गरे पनि राम्रो व्यवहार हुँदैन, यसमा पनि एकल महिला सबैभन्दा बढी पीडित छन् ।” महिला विकास अधिकृत भगवती अर्यालले भनिन्, “यौनसम्बन्धी घटना धेरै भए पनि पनि अभिव्यक्त हुन सकेका छैनन ।”

पुरातनवादी सोच र संस्कार, पितृ सत्तात्मक व्यवहार र शिक्षामा महिलाको प्रभावकारी पहुँच नहुनुले पनि महिलाको अधिकार सुरक्षित हुन नसकेको सहभागीको भनाइ छ । पत्रकार मेनुका ढुंगानाले बालविवाहका कारणसमेत महिला हिंसा र घरेलु हिंसाका घटना बढेको बताइन् ।

जिल्लामा महिला पीडित देखिने र घरेलु हिंसाका घटना सबैभन्दा बढी आउने गरे पनि मिलापत्र गराउने गरिएको प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी गराए । उनले महिला हिंसा र घरेलु हिंसाका घटनामध्ये एक तिहाइ मात्रै प्रहरीसमक्ष आउने गरे पनि दुई तिहाइ यस्ता घटना ढाकछोप हुने गरेको र महिला आफैँ पनि प्रहरीसम्म पुग्न नसकेको उल्लेख गरे ।

गत आवमा मात्रै १५४ वटा महिला हिंसाका घटना दर्ता भएका र गत भदौ ११ गतेदेखि हालसम्मको अवधिमा पाँच वटा त बलात्कारका मुद्दा नै दर्ता भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उनले भने, “यो अवस्थाले नै जिल्लाको महिला हिंसाको अवस्था झल्काउँछ, दुःखको कुरा कतिपय बलात्कारका घटनामा पनि पीडित र पीडक पक्ष मिलापत्र गरौँ भनेर आउँछन् ।”

अन्तक्र्रियामा प्रजिअ किशोरकुमार चौधरीले भने, “मानवअधिकारको पूर्ण पालना गर्न राज्यका प्रत्येक अंगहरु सक्रिय छ ।” कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत पवनकुमार भट्टले मानवअधिकार आयोगले गर्ने काम, कर्तव्य र अधिकारका बारेमा जानकारी दिँदै आयोगका सबै सिफारिस सरकारले कार्यान्वयन नगरेको बताए । रासस

Logo