काठमाडौंका टप १० डेटिङ स्पट (भिडियो कथा)

काठमाडौंका टप १० डेटिङ स्पट (भिडियो कथा)

केन्द्रबिन्दु
0
Shares

राजधानी उपत्यकामा बसोबास गरिरहेका तन्नेरी पुस्ताको लभ मेकिङ स्पट कहाँ होला ? अथवा, आफूलाई शालीन र भद्र भन्न रुचाउने तरुनी–तन्नेरीहरू एकान्तमा बसेर माया साट्ने ठाउँ कहाँ होला ?

फिल्म हल, सार्वजनिक यातायात, रेष्टुरेन्ट आदि होइन, निर्धक्कसँग बसेर माया साट्न सकिने ठाऊँ को संकेत गर्न खोजेका हौं । आजको हाम्रो रिपोर्ट यही विषयमा केन्द्रित छ । आखिर राजधानीमा कहाँ–कहाँ छन् त्यस्ता नोटेड लभ–स्पट र लभ पार्कहरू ?
अघोषित नै सही, राजधानी उपत्यकामा पनि डेढ दर्जनभन्दा बढी लभपार्क छन् । सजिलो र एकान्त स्थल खोज्ने क्रममा युगल जोडीहरू जहाँ झुम्मिन्छन्, ती स्थलहरू नै हाम्रा लभपार्क हुन् । तीमध्येका पनि टप १० लभपार्कहरू हामीले छनोट गरेका छौं–

पहिलो नम्मरमा पर्छ,
बोटानिकल गार्डेन, गोदावरी ।
गोदावरीस्थित बोटानिकल गार्डेन धेरै प्रेमजोडीका लागि सुरक्षित र आकर्षक गन्तव्य हो । फूल–बगैंचा र जंगलले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्ययुक्त छ । प्रेमजोडीका लागि छलिएर प्रेम साट्ने प्रसस्तै अवसर हुन्छ यहाँभित्र । यहाँको सुन्दरतामा रमाउँदै प्रेम साट्नुको मज्जा बेग्लै हुने अनुभवीहरू बताउँछन् ।

दोस्रो नम्मरमा छ,
अम्याजिङ पार्क, भृकुटी मण्डप ।
राजधानीको मुटुमा रहेको यो पार्क भृकुटी मण्डपको फनपार्कसँगै जोडिएको छ । मानिसको आवत–जावत उत्तिसारो नहुने भएकाले व्यस्त सहरमाझ पनि यो पार्क शान्त छ । त्यसैले युवायुवतीहरू संसारलाई भुलेर यो पार्कभित्र आफ्नो आधिपत्य जमाइरहेका हुन्छन् ।

त्यसपछि
शंख पार्क, महाराजगञ्ज ।
महाराजगञ्ज नजिकै रिङरोडसँगै जोडिएको यो पार्क प्रेमजोडीका लागि सजिलो स्थान हो । स–साना बुट्यानमा छलिएर प्रेम साट्न आतुर युवायुवती भेटिन्छन् यहाँ । यस पार्कमा प्रेमजोडीहरूको कमी हुँदैन । यहाँ बगैचा मात्र होइन, मन्दिर पनि छ ।

शंखपार्क पछि
बाइसधारा, बालाजु
बाइपास नजिकैको बाइसधारा प्रेमी–प्रेमिकाका लागि उपयुक्त स्थान हो । बाइसधाराको सौन्दर्यसँग मितेरी लाउँदै प्रेम साटिरहेका युवायुवतीहरू यहाँ भेटिन्छन् । सहरिया कोलाहलबाट केही मात्रामा भए पनि मुक्ति पाइने भएकाले दिल खोलेर प्रेम साट्न युवायुवतीहरू यस पार्कभित्र छिर्ने गर्छन् । फूल बगैंचासहितको बाइसधारा पार्कमा प्रेमजोडीहरू उन्मुक्त प्रेममा हराउन सक्छन् ।

अर्को ठूलो पार्क हो
त्रिभुवन पार्क
थानकोट बसपार्क नजिकै अवस्थित छ यो पार्क । सिजनमा यहाँ वनभोज खानेहरूको घुइँचो हुन्छ । वन जंगल र बगैंचासहितको यो पार्क प्रेमजोडीका लागि निकै उपयक्तु छ । ठुलो क्षेत्रफल भएकाले अरूले नदेख्ने एवं सुरक्षित स्थानमा आफ्नो मायालु जोडीसँग बस्न सकिन्छ । फलैंचा, शौचालयको सुिवधा छ यहाँ ।

त्यसपछि
जावलाखेल सदर चिडिखाना
जीवजन्तुको अवलोकनका लागि होइन, प्रेम साट्नका लागि धेरै युवायुवतीहरू प्रवेश गर्छन् सदर चिडियाखानामा । जावलाखेलस्थित चिडियाखानाको रमिते बन्ने नाममा उनीहरू त्यहाँ जान्छन् र आफ्नै प्रेममा हराउँछन् । यसभित्र रहेको सानो तालको आडैमा होस् या कुनै एकान्त स्थानमा नै, प्रेममा मस्त तन्नेरीहरू थुप्रै भेटिन्छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका
दरबार स्क्वायरहरू
दरबार स्क्वायरहरुको आसपासको क्षेत्र प्रेमजोडीका लागि अति उपयक्तु स्थान हो । मन्दिरै–मन्दिर भएका यी स्थानमा प्रेम गर्नेहरूका लागि कतै बाधा छैन । मन्दिरको आडमा छलिएर प्रेममा लिप्त जोडी भेटिन्छन् तीनवटै दरवार स्क्वायर छेउछाउ । दरबारको छेउमा रहेका अग्ला ठाउँमा बसेर रमाउनेहरू पनि कम्ता भेटिँदैनन् ।

त्यसपछि
बृहत्त पशुपतिनाथ क्षेत्र
युवायुवतीहरू पशुपतिनाथ क्षेत्रमा बाक्लिँदै गरेको देख्दा उनीरूमा धार्मिक लगाव बढेको नठान्नु होला । धर्मको आकर्षणले होइन, ती मध्ये कतिपय सुरक्षित लभ पार्कको खोजीमा त्यता जाने गर्छन् । पशपुति क्षेत्रमा पर्ने बनकाली, किरातेश्वर आदि स्थान प्रेमजोडीकालागी मलिला ठाऊँ हुन् । चिनेजानेका र परिवारले देख्दा बहाना बनाउन पनि सजिलो हुने भएकाले अक्सर यवुतीहरूले नै मन्दिर आसपासलाई छनोट गर्ने गर्छन् ।

अर्को हो,
स्वयम्भू क्षेत्र
स्वयम्भू जाने क्रममा जब जंगलको बाटो प्रवेश हुन्छ, प्रेमजोडीका गतिविधि मज्जाले नियाल्न पाइन्छ । आपसमा अंगालोमा बाँधिएर प्रेमको संसारमा रमाइरहेका जोडी यस क्षेत्रमा भेटिन्छन् । प्रेमजोडीका लागि एकान्त र सुरक्षित छ यो स्थान ।

सर्वाधिक सुन्दर पार्क
द गार्डेन अफ ड्रिम
मध्यम वर्गका लागि उपयुक्त ठाउँका रूपमा विकास हुँदैछ, ‘द गार्डेन अफ ड्रिम ।’ केशरमहलमा रहेको यो पार्क केही महंगो पनि छ । बिहान ९ बजे देखि राती १० बजेसम्म खुल्ने यो पार्क फोटो खिच्नेहरूका लागि उपयुक्त छ । यो काठमाडौंको सबैभन्दा सुन्दर पार्क मानिन्छ ।

टप टेनभित्र परेका बाहेक अरू पनि केही ठाउँ माया साट्ने केन्द्रका रूपमा देखा परेकाछन् । चोभारको पाखा–भित्ताले पनि अहिले लभ स्पटका रूपमा चिनारी बनाउँदैछ । राजधानीका थुप्रै तन्नेरीहरू प्रेम साट्न यस स्थानमा पुग्ने गरेका छन् ।

नगरकोट उहिल्यैदेखि पर्यटक र मायालु जोडीहरूका लागि आकर्षक गन्तव्य रहँदै आएकै हो । भक्तपुरको फन पार्क, महादेवको ठूलो मूर्ति भएको साँगा, सूर्यविनायक घ्याम्पे डाँडा, कीर्तिपुरको कोरोनेसन गार्डेन, दक्षिणकाली पिकनिक क्षेत्र, ककनी आदि क्षेत्र पनि वैकल्पिक लभपार्क बनेर देखा पर्ने गरेका छन् ।

भर्खरै अर्को एउटा स्थानले लभ स्पर्टको रुपमा आफूलाई चिनाउँदैछ । त्यो स्पट हो, केबलकार चढेर पुगिने चन्द्रागिरी । चन्द्रागिरी खर्चिलो र राजधानीबासीकालागी केही टाढाको पार्क भएपनि एक पटक पुग्नै पर्छ भन्ने क्रेस यसले छरेको छ ।

 

Logo